निजामतीसरह मर्यादा नपाएको भन्दै निर्वाचनमा खटिएका शिक्षकले गरे नाम हटाइदिन आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निजामतीसरह मर्यादा नपाएको भन्दै निर्वाचनमा खटिएका शिक्षकले गरे नाम हटाइदिन आग्रह


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ। कैलाली घोडाघोडी नगरपालिकाको राष्ट्रिय माध्यामिक विद्यालय तारानगरका शिक्षकहरूले निर्वाचन आयोगले तह र श्रेणी अनुसारको जिम्मेवारी नदिएको भन्दै नाम हटाइदिन आग्रह गरेका छन् ।

राष्ट्रिय माध्यमिक विद्यालयका माध्यमिक तह तृतीय श्रेणीमा स्थायी र राहत शिक्षकको नाम सहायक कर्मचारीमा खटाइएकोले तह र श्रेणी अनुसारको पद नमिलेकाले मावि तृतीय श्रेणीका स्थायी शिक्षकहरू सुबोध कुमार शर्मा, मनोज कुमार जोशी, हरिदत्त भट्ट र राहत शिक्षक बलभद्र देवकोटाले सुखड कैलाली निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

शिक्षक सुबोध कुमार शर्माले निर्वाचन अधिकृतसँग छलफल गर्ने क्रममा निमावि तृतीय श्रेणीको शिक्षकको विवरण परेकोले सहायक कर्मचारीमा राखिएको र गल्ती भएको स्वीकार गरेको बताए ।

निर्वाचन अधिकृतसँगको छलफलपछि उनीहरूले निवेदन दिएको बताएका छन् ।

जिल्ला निर्वाचन आयोगले शिक्षक सुबोध कुमार शर्मालाई मतदान केन्द्र मेलघट्टी मावि दिपनगर ‘ङ’, शिक्षक मनोजकुमार जोशीलाई सरस्वती मावि शिखरखोला ‘ख’, हरिदत्त भट्टलाई सरस्वती मावि शिखरखोला ‘क’ केन्द्रमा र बलिभद्र देवकोटालाई राष्ट्रिय मावि नकफोडुवा ‘ग’ केन्द्रमा सहायक कर्मचारीको रूपमा खटाएको छ ।

त्यस्तैगरी दोलखा चरिकोटको क्षत्रवती माध्यमिक विद्यालयका प्रावि तह प्रथम श्रेणीका शिक्षक निरबहादुर बस्नेतले पद अनुसारको जिम्मेवारी नदिईएकोले सोही जिम्मेवारीमा निर्वाचनमा खटिएर जान नसक्ने निवेदन दिएका छन् ।

शिक्षक बस्नेतले निवेदनमा पद अनुसारको मर्यादाक्रम उपयुक्त हुने खालको कार्यभारसहित जिम्मेवारी दिएमा मात्र निर्वाचनमा खट्ने जनाएका छन् । उनलाई जिल्ला निर्वाचन आयोगले नवीन मावि मतदान केन्द्र ‘ग’ मा सहायक कर्मचारीको जिम्मेवारी दिएको छ ।

यसअघि मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटका क्रममा शिक्षकहरूलाई उचित मर्यादा नदिएको महासङ्घको शिक्षक महासङ्घले विज्ञप्ति निकालेर आपत्ति जनाएको थियो ।

सम्बन्धित समाचार : शिक्षकले निजामती कर्मचारीसरह मर्यादा नपाएकोमा आपत्ति

Tags :
प्रतिक्रिया दिनुहोस