बझाङमा स्थानीयवासीलाई घर बाहिर बस्न प्रहरीको ‘माइकिङ’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बझाङमा स्थानीयवासीलाई घर बाहिर बस्न प्रहरीको ‘माइकिङ’


२७ कार्तिक २०७९, आइतबार


बझाङ । खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलवार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो ।

‘मङ्गलवार राति आएको भूकम्पले चर्किएका घर शनिवारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ’, उनले भने । उनका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका छन् ।

खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन् । मङ्गलवारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए । जिल्ला सदरमुकाम चैनपुरवासी सुदूर पश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन् । घटनाबारे जानकारी आइसकेको छैन ।

दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

दार्चुलालगायत सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । डोटीमा भने भूकम्पको धक्का पछि स्थानीयको भागाभाग भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस