मंसिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन : उपाध्यक्ष श्रेष्ठ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मंसिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन : उपाध्यक्ष श्रेष्ठ


२६ कार्तिक २०७९, शनिबार


लेखनाथ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउनका लागि भएको बताएका छन् ।

पाँचदलीय गठबन्धन चुनाव प्रचार–प्रसार समिति कास्कीद्वारा आज आयोजित निर्वाचन केन्द्रित छलफल कार्यक्रममा नेता श्रेष्ठले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लोकतन्त्रको सामान्य प्रक्रिया मात्र नभएको उल्लेख गरे । ‘बाह्र बुँदे सम्झौताअनुसार वेपत्ता र द्वन्द्वपीडिलले अझैसम्म क्षतिपूर्ति पाउन सकेका छैनन, उहाँहरुको माग सम्बोधन गर्नु पर्छ’, उनले भने, ‘पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म पनि रहने छ ।’

शान्ति, समृद्धि र लोकतन्त्रको पक्षमा पाँचदलीय गठबन्धन रहेको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचनपछि बन्ने पाँच दलीय गठबन्धनको सरकारले विगतका गल्ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने बताए । लोकतन्त्रको अभिन्न अङ्ग निर्वाचन भएकाले सबै नेपाली यसमा होमिएका उनको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको वर्तमान सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि सफलरूपमा सम्पन्न गर्न अगाडि बढेको बताए । पाँचदलीय गठबन्धन निर्वाचनपछिसम्म पनि कायमै रहने उनको भनाइ थियो ।

लोकतन्त्र र संविधानको रक्षा, समृद्धि र स्थिर सरकारको निम्ति पाँच दलीय गठबन्धन एउटै पार्टी जस्तै बनेकाले गठबन्धनमा आबद्ध सबै दलले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्नसमेत महरले आग्रह गरे ।

नेकपा (एकीकृत समाजवादी) कास्कीका उपाध्यक्ष पूर्ण लामाले आगामी निर्वाचनमा अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार विजयी हुने भएकाले देशलाई समृद्धितर्फ कसरी अगाडि बढाउने भन्नेबारेमा सोच्न जरुरी भएको बताए । उनले कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभाका नौवटै सिटमा गठबन्धनका उम्मेदवार विजय हुने दाबी गरे ।

नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कांग्रेसका युवा नेता गङ्गाधर पराजुलीलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस