राजनीतिक प्रतिशोधका कारण मन्त्रीबाट हटाइयो, नयाँ वैकल्पिक शक्ति बनाउँछु : हरिशरण आचार्य « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राजनीतिक प्रतिशोधका कारण मन्त्रीबाट हटाइयो, नयाँ वैकल्पिक शक्ति बनाउँछु : हरिशरण आचार्य


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ। मंगलबार बर्खास्तमा परेका गण्डकीका ऊर्जामन्त्री हरिशरण आचार्यले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोरखाली जनताको जनमत बेचेको आरोप लगाएका छन् ।

गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आरोपमा हिजो हटाइएका आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै बाबुराम भट्टराई, प्रचण्डलगायतका नेताहरूको आलोचना गरे ।

आफूलाई कार्यसम्पादन कमजोर भएर नभई राजनीतिक प्रतिशोधका कारण मन्त्रीबाट हटाइएको उनको भनाइ छ ।

‘अब राजनीतिक रूपमा नयाँ बाटोमा बढ्ने बताए । नयाँ शक्ति पार्टी बनाउँदाका नेताहरूसँग मिलेर नयाँ वैकल्पिक शक्ति बनाउँछु’, आचार्यले भने ।

उनले सबैभन्दा बढी बाबुराम भट्टराईको आलोचनामा समय खर्चिए । असोज २१ मा नेसपा त्यागेको घोषणा गरेका उनले बाबुराम भट्टराईमा राजनीतिक विचलनको क्रम जारी रहँदा अहिले माओवादीमा आत्मसमर्पण गर्न पुगेको आरोप लगाए । बाबुरामसँग आफ्नो राजनीतिक, व्यक्तिगत सबै सम्बन्ध सकिएको उनको भनाइ थियो ।

गोरखा २ (१) बाट नेसपाका फणिन्द्र देवकोटाले टिकट पाएपछि आचार्यले बागी उम्मेदवारी दिएका थिए । पछि पार्टी अध्यक्ष बाबुराम भट्टराईको दबाबका कारण उनले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिएपनि गोरखामा प्रचण्ड र फणिन्द्रको विपक्षमा कार्यक्रमहरूमा सहभागी भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उनलाई बर्खास्त गरेका थिए ।

आचार्यले बाबुराम नैतिकहीन, विचलित भएको आरोप लगाउनुका साथै बाबुराम, प्रचण्डले राजतन्त्रको नयाँ संस्करण सुरु गरेको आरोपसमेत लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस