राजनीतिलाई लिएर दीपकराज र निश्चलको जुहारी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राजनीतिलाई लिएर दीपकराज र निश्चलको जुहारी


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । अभिनेता दीपकराज गिरी समसामयिक घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमा धारणा राखिरहन्छन् । यति बेला चुनावको माहोल छ, कतिपय कलाकार दल र उम्मेदवारलाई भोट माग्दै हिँडिरहेको देख्न सकिन्छ ।

यस्तोमा दीपकराजले फेसबुकमा एक स्ट्याटस लेख्दै कलाकार गहना भएकाले आफू कुनै समूहमा लाग्न नसक्ने उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘कलाकारलाई गहना किन भनेको होला रु सायद सबैले प्रिय र साझा ठानेकोले होला । त्यसैले म कुनै एक समूहको हुन सकिनँ । सबैलाई शुभकामना ।’

कलाकार गहना भएकाले सबैको प्रिय हुने र कुनै दल विशेषमा आबद्ध हुन नहुने दीपकको मत छ । पछिल्लो समय दल र उम्मेदवारको पक्षमा खुलेरै हिँडेका अन्य कलाकारप्रति उनको कटाक्ष देखिन्छ । दीपकको यो पोस्टमा थुप्रै टिका टिप्पणी आएका छन् । अर्का कलाकार तथा निर्देशक निश्चल बस्नेतले पनि दीपकको स्ट्याटसमा कमेन्ट गर्दै मुलुकलाई खाल्डोबाट जोगाउन गहनाको पनि कर्तव्य हुने उल्लेख गरेका छन् ।

निश्चलले लेखेका छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला । पेसाभन्दा पहिला देश, कि के हो दाइ ?’ निश्चल यति बेला केही स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर भोट मागिरहेका छन् ।

निश्चलको कमेन्टमा दीपकले टिप्पणी गरेका छन्, ‘वकिलले राम्रो गरेन वकिल खोज्ने, डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर । आफू जे हो त्यो काम इमान्दार भएर गर्नुपर्छ भन्ने आशय मात्रै हो । हामीले सपोर्ट गरेकाले पनि देशलाई खाल्डोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर ?’

Tags :
प्रतिक्रिया दिनुहोस