नेतृत्व परिवर्तनका लागि मलाई निर्वाचित गर्नुहोस्, राजनीति पुरै सुधार गर्छु : गगन थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेतृत्व परिवर्तनका लागि मलाई निर्वाचित गर्नुहोस्, राजनीति पुरै सुधार गर्छु : गगन थापा


प्रशासन संवाददाता

२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताएका छन् । 

आफू सांसद भएमात्रै काँग्रेस भित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उनको भनाई थियो ।

पार्टीको काभ्रे-काठमाडौँ सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौँ-४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन जितेर गए काँग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटक-पटक दोहोर्‍याए । त्यसका लागि काठमाडौँ क्षेत्र नम्बर ४ का अगुवाहरूले आफूलाई जिताउनका लागि बाँकि समय लागिदिनुपर्ने महामन्त्री थापाको अनुरोध थियो । महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा निर्वाचन लड्न पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे । उनले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पुरै सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  

महामन्त्री थापाले अबको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरूले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै नरहने चेतावनी समेत दिए । जनप्रतिनिधिहरूले अव पनि मतदाताहरूमाथि निर्वाचनमा गरेको बाचा अनुसार काम नगरे उनीहरूले फेरी चुनाव लड्न नपाउने पनि उनले बताए । महामन्त्री थापाले सत्तारुढ गठबन्धनको आगामी निर्वाचनपछि बहुमत आउने दाबी गर्दै त्यसपछि पाँच वर्षसम्म एकताबद्ध भएर जनताको भावना अनुसार काम गर्न प्रतिबद्ध हुनुपर्ने पनि बताए ।  महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरूलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र मुलुक बरबाद हुने बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस