काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीमध्ये ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएको हो ।
‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत तोकिएको मार्जिन राखेर शेयर खरिदबिक्री गर्ने कार्य हो । सामान्य अर्थमा पुँजी बजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको शेयर खरिद गर्न पाउने सुविधा नै मार्जिन कारोबार हो ।
नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबार योग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्छ ।
सार्वजनिक सूचीअनुसार चालू आर्थिक वर्षका लागि मार्जिन कारोबार गर्न पाउने कम्पनीमा १७ वटा वाणिज्य बैङ्क, आठ वटा विकास बैङ्क, पाँच वटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, १० वटा बीमा कम्पनी र २९ वटा लघुवित्त कम्पनी छन् ।
त्यस्तै तारा गाउँ होटेल रिजेन्सी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडले पनि मार्जिन कारोबारको सुविधा पाउनेछन् ।
यी कम्पनीका लगानीकर्ताले मार्जिन कारोबार सुविधा पाउनका लागि धितोपत्र दलाल व्यवसायीसमक्ष मार्जिन कारोबारका लागि खाता खोल्नुपर्छ । धितोपत्रको मार्जिन कारोबार गर्ने अनुमति पाएका दलाल व्यवसायीले मात्रै मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्छन् ।