रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा दिँदै सहकारी, कर्मचारीलाई तनाव नगर्न आग्रह  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा दिँदै सहकारी, कर्मचारीलाई तनाव नगर्न आग्रह 


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा पास गरिदिएको छ ।

सहकारी संस्थामा समस्या परेपछि बचतकर्ता केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधिलाई सहकारीले नवलपरासीमा रहेको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको सहकारीले जनाएको छ । 

बचतकर्ता प्रतिनिधि कमिटीमा रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्डर्स एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नवलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाको कमजोरीका कारण देउराली बहुउद्देश्यीय सहकारीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्याग्रस्त अवस्थामा रहेकोले ठूला बचतकर्ताहरूलाई जग्गा दिने कामको थालनी गरिएको सहकारीले जनाएको छ ।

चालु पुँजी अभावमा बचत फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्षले दुई महिना अघि सदस्यहरूको भेला गरेर जग्गा दिने बचन दिएका थिए ।

साना बचतकर्ताहरूलाई भने सहकारीले आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता दिइरहेको जनाएको छ ।

बचतकर्ताहरूलाई संयमित हुन आग्रह गर्दै कर्मचारीहरूलाई तनाव सिर्जना गरिदिने जस्ता कामहरू नगरिदिन देउराली सहकारीले अनुरोध पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस