दाङका शरद र रोशनीको हत्यामा संलग्न ४ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाङका शरद र रोशनीको हत्यामा संलग्न ४ जना पक्राउ


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ । 

तुलसीपुर उपमहानगरपालिका-१३ स्थित दमार गाउँको जङ्गलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जङ्गलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

मृतक दुवै जनाको टाउकोमा चोट देखिएको छ । घटना अनुसन्धानको क्रममा प्रहरीले दमार गाउँको जङ्गलबाट दुईथान मोबाइल बरामद गरेको छ । घटनास्थलबाट केही पर रगत लागेको चप्पल पनि भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।

दाङमा चल्ने बसमा काम गर्ने एक जना किशोर र मृतक किशोरीसँग परिचित युवकलाई प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरिरहेको थियो । ती युवकले मृतक किशोरीको सिमकार्ड लगेर चलाएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए । मृतक असोज २७ बाट हराएका थिए ।

शरद र रोशनी एउटै स्कुलमा पढ्थे । दमार गाउँको अम्बिकेश्वरी स्कुलमा शरद ८ कक्षामा र रोशनी ९ कक्षामा अध्ययनरत थिइन् । उनीहरू दुई एक आपसमा नजिक रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् । लुम्बिनी प्रादेशिक अस्पतालमा शव पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस