टी-२० विश्वकप : सुपर-१२ मा नेदरल्यान्ड्सको पहिलो जित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टी-२० विश्वकप : सुपर-१२ मा नेदरल्यान्ड्सको पहिलो जित


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । ओपनर म्याक्स ओ‘डाउडको अर्धसतकप्रेरित नेदरल्यान्ड्सले आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर-१२ मा बुधबार पहिलो जित निकालेको छ ।

एडिलेड ओभलमा सम्पन्न समूह–२ को खेलमा नेदरल्यान्ड्सले जिम्बाब्वेलाई पाँच विकेटले पराजित गरेको हो । जिम्बाब्वेले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८ ओभरमा पाँच विकेट गुमाएर १२० रन बनायो ।

नेदरल्यान्ड्सको जितमा ओपनर ओ‘डाउडले ४७ बलमा आठ चौका र एक छक्कासहित ५२ रन बनाए । टम कुपरले ३२ रन बनाउँदा बास डे लिडेले अविजित १० रन जोडे ।

जिम्बाब्वेका रिचार्ड एन्गाराभा र ब्लेसिंग मुजरबानीले समान दुई विकेट लिँदा लुक जंगवेले एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङमा आएको जिम्बाब्वेले १९.२ ओभरमा सबै विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको थियो ।

जिम्बाब्वेका सिकन्दर राजाले सर्वाधिक ४० रन बनाएका थिए । सिन विलियम्सले २८ रन बनाउँनुबाहेक अन्य टिमका ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

जिम्बाब्वेलाई कम योगफलमा रोक्न नेदरल्यान्ड्सका पाउल भान मिकेरेनले तीन विकेट लिएका थिए । ब्रान्डन ग्लोभर, लोगन भान बिक र बास डे लिडेले समान दुई विकेट लिँदा फ्रेड क्लासेनले एक विकेट हात पारे ।

समूह-२ मा चार खेलबाट दुई अङ्क जोडे पनि नेदरल्यान्ड्स तालिकाको पुछारमा छ । समान खेलबाट तीन अङ्क जोडेको जिम्बाब्वे चौथो स्थानमा छ । आजै हुने समूह-२ को अर्को खेलमा भारत र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस