‘एमालेको घोषणापत्र आधारहीन’ : नैनसिंह « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

‘एमालेको घोषणापत्र आधारहीन’ : नैनसिंह


१६ कार्तिक २०७९, बुधबार


डडेलधुरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ०७४ सालको निर्वाचनपछि साढे तीन वर्ष सरकार चलाएको नेकपा एमालेले घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको बताएका छन् ।

डडेलधुराको अजय मेरु गाउँपालिकामा सत्ता गठबन्धनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता महरले एमालेले प्रकाशित गरेको घोषणापत्रमा समेटिएका २० ग्यारेन्टी आधारहीन भएको बताए । २० ग्यारेन्टीका नाउँमा निर्वाचन प्रभावित पार्न एमालेले जनताको आँखामा छारो हाल्ने काम गरिरहेको उनको भनाइ छ ।

केपी ओलीले साढे तीन वर्षसम्म सरकार चलाए पनि २०७४ को घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको महरको दाबी छ । उनले भने, ‘आफ्नो घोषणापत्रमा लेखेको एक प्रतिशत काम पनि जुन पार्टीले कार्यान्वयन गर्दैन त्यो पार्टीले देश बनाउँछु भन्नु हावादारी कुरा हो । त्यसैले जनता काँग्रेस नेतृत्वको गठबन्धनको पक्षमा उभिन आवश्यक छ ।’

ओली नेतृत्वको सरकारले साढे तीन वर्ष सरकार चलाएर ऋण बढाउने मात्रै काम गरेको महरले बताए । ‘केपी ओली प्रधानमन्त्री हुने समयमा एक जना नेपालीको टाउकोमा चानचुन २३ हजार ऋण थियो,’ महरले भने, ‘ओलीले साढे तीन वर्ष सरकार चलाएपछि ६० हजारभन्दा बढी पुर्‍याइदिए । ६ खर्ब रहेको देशको ऋण पनि बढाएर २० खर्ब बढी पुगाइदिए ।’

फेरि पनि ओली नेतृत्वको सरकार बने अबको ५ वर्षमा एक सय खर्बको अर्थतन्त्र बन्ने भन्दा पनि एक सय खर्ब ऋण थपिने र देश कङ्गाल बन्ने खतरा रहेको महरले बताए । काँग्रेस संविधान बचाउन, स्थिरता कायम गर्न र देशको सम्बृद्धिका लागि गठबन्धन बनाएर अगाडि बढेको उनको तर्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस