श्रमिकको न्यूनतम ज्याला २५ हजार पुर्‍याइने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

श्रमिकको न्यूनतम ज्याला २५ हजार पुर्‍याइने


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)ले श्रमिकहरूको न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

मंगलबार दिउँसो काठमाडौँको याक एण्ड यति होटेलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने भन्दै श्रमिकलाई न्यूनतम ज्याला पुर्‍याउने उल्लेख गरिएको छ ।

‘औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्‚’ घोषणापत्रमा लेखिएको छ‚ ‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिनेछ । श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याइनेछ ।’

त्यस्तै एमालेले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

‘नेपालीका लागि मात्रै नेपाली नागरिकता’ भन्ने नारा अगाडि सार्दै घोषणापत्रमा लेखिएको छ‚ ‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन् । सरकार गठन भएको एक महिनाभित्र वंशजको आधारमा नागरिकता दिने र छ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिनेछ । एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण हुनेछ ।’

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल स् सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणापत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस