असई हत्या प्रकरणमा एसपी खड्कालाई कारबाही गर्न सिफारिस  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

असई हत्या प्रकरणमा एसपी खड्कालाई कारबाही गर्न सिफारिस 


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्याको घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ । एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन समितिको निष्कर्ष छ । 

घटनापछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाउँदै सो घटनामा सशस्त्र प्रहरीको कमजोरी रहेको औँल्याएको छ । सोही प्रतिवेदनमा एसपी खड्कालगायत केही प्रहरीमाथि कारबाहीको सिफारिस भएको हो । 

घटनाका वेला एसपी खड्का राजविराजस्थित सशस्त्र प्रहरीको गणपति थिए । उनको कमान्ड कमजोरीले घटना भएको भन्दै छानबिन समितिले विभागीय कारबाही सिफारिस गरेको हो । सशस्त्र प्रहरी मुख्यालयले एसपी खड्कालाई गणबाट हटाइसकेको छ । 

गत २० असोजमा असई यादव मृत अवस्थामा भेटिएका थिए । सप्तरीमै कार्यरत सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीले उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ । दुवै जनाले मदिरा पिएको र विवाद हुँदा आवेगमा हत्या भएको अनुसन्धान निष्कर्ष छ । जवान खड्का प्रहरी हिरासतमा छन् । 

सप्तरीका एसपी अविनारायण काफ्लेका अनुसार घटना व्यक्तिगत रिसिइवीमा भएको हालसम्मको अनुसन्धानमा देखिएको छ । ‘नियोजितभन्दा पनि आवेगप्रेरित घटना जस्तो देखिन्छ,’ उनले भने, ‘अनुसन्धान अझै सकिएको छैन, घटनामा अन्य व्यक्तिको संलग्नता पनि देखिएको छैन ।’ 

हत्यापछि जवानले असइको शव खोलामा बगाइदिएका थिए । बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा शव भेटिएको थियो । 

बदनाम प्रहरीलाई सीमा क्षेत्रमा खटाइनुलाई पनि घटनाको एउटा कारण मानिएको छ । हत्यामा संलग्न जवान खत्रीमाथि पटक-पटक विभागीय कारबाही भएको थियो । हवल्दारबाट उनी जवानमा घटुवा भएका थिए । घटुवा भए पनि उनी सीमा क्षेत्रमै कार्यरत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस