उमेरले राजनीतिको फैसला गर्दैन : चित्रबहादुर केसी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उमेरले राजनीतिको फैसला गर्दैन : चित्रबहादुर केसी


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन्। पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको बताए।

नेपाली काँग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायतको दृष्टान्त सुनाउँदै उनले आवश्यकताले आफू पाको उमेरमा पनि सक्रिय राजनीतिमा रहेको उल्लेख गरे।

बागलुङ–१ बाट आसन्न प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार रहेका अध्यक्ष केसीले आफूले चाहेर नभई पार्टीको निर्णयअनुसार उम्मेदवार बनेको स्पष्ट पारे।

‘मैले जिल्लाको साथीलाई पनि सिफारिस नगर्नुस् भनेको थिएँ। सिफारिस पनि भएको होइन। पछि पार्टी केन्द्रले नै अगाडि सार्‍यो। गठबन्धन दलबाट पनि तपाईँ नै चुनावमा उठ्नुपर्छ भन्ने सुझाव आयो,’ उनले भने।

अध्यक्ष केसीले गठबन्धनको सूत्रधार आफ्नै पार्टी रहेको समेत दाबी गरे।

‘गठबन्धनको सुरुआत गरेको हामीले हो। २०७७ पुस ५ गते संसद विघटन भएपछि ७ गते प्रतिगमन भयो भनेर राष्ट्रिय जनमोर्चाले वक्तव्य निकालेको छ,’ उनले भने।

विसं २०५६, २०६४ र २०७० को चुनावबाट सांसद बनेका अध्यक्ष केसी अहिले पुनः संसदमा छिर्ने दाउसहित सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन्।

८२ वर्षको पाको उमेरमा पनि पदका लागि राजनीतिमा अग्रसर रहेको भन्दै उनीमाथि बेलाबेला टिप्पणी हुँदै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस