दाङ ३ (ख) मा दुई ‘कमान्डर’बीच हुँदैछ यस्तो रोचक भिडन्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दाङ ३ (ख) मा दुई ‘कमान्डर’बीच हुँदैछ यस्तो रोचक भिडन्त


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । प्रदेशसभातर्फ दाङका ६ वटा निर्वाचन क्षेत्रहरूमध्ये सबैभन्दा धेरै मतदाता ३ (ख) मा छन् । यहाँ ७९ हजार ९८९ मतदाता रहेका छन् ।

जसमध्ये ३९ हजार ५०९ पुरुष र ४० हजार ४८१ महिला मतदाता छन् । यो निर्वाचन क्षेत्रमा ३३ मतदानस्थल र ९३ वटा मतदान केन्द्र रहेका छन् ।

यो क्षेत्र पश्चिम दाङका बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, १० र ११ पर्छन् ।

यहाँ गठबन्धन दलबाट माओवादी केन्द्रका धनबहादुर मास्की र एमालेका हुकुमबहादुर बस्नेतका बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

यी दुवै संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका व्यक्तिहरू हुन् । मास्की पार्टीका पोलिट्ब्युरो सदस्य हुन् भने बस्नेत जिल्ला अध्यक्ष । तर, ३ (क) का बस्नेतले निर्वाचनमा आफैँले आफैँलाई भने मतदान गर्न पाउने छैनन् ।

मास्की माओवादीको ‘जनयुद्ध’ताका ‘जनसेना’का पूर्वडिभिजन कमिसार हुन् । मास्की पार्टी अध्यक्ष प्रचण्डका विश्वासपात्र मध्येका एक मानिन्छन् । उनी लामो समयदेखि माओवादीको राजनीतिमा सक्रिय छन् ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यही निर्वाचन क्षेत्रमा पर्ने तुलसीपुरका वडा नं.१, २, १० र ११ मध्य वडा नं। १ मात्रै माओवादीले जितेको छ । अरू सबै वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएका थिए ।

त्यसैले गठबन्धनका लागि यहाँ ४६५६ मत मात्रै देखिन्छ भने एमालेको लागि ६ हजार ५१५ मत रहेको छ । स्थानीय चुनावलाई आधार मान्दा तुलसीपुरका चार वडामा एमाले गठबन्धन दलहरू भन्दा १ हजार ८५९ मतान्तरले अगाडि रहको छ । यहाँबाहेक अन्यत्र सबै तीन पालिकामा गठबन्धन दलहरूको पक्षमा मतको पल्ला भारी छ ।

सातवटा वडाहरू रहेको दंगीशरण गाउँपालिकामा काँग्रेस एक्लैले पालिका अध्यक्ष उपाध्यक्षसहित वडाहरू १, ३ र ६ जितेको छ । यहाँ काँग्रेसका वडाध्यक्षले मात्रै प्राप्त गरेको मत २४४५ रहेका छ ।

त्यस्तै यहाँ माओवादीले एउटा वडा पनि जितेको छैन । यहाँ उसका वडाध्यक्षले प्राप्त गरेको मत १ हजार ६६५ हो भने एउटा वडाध्यक्षमा मात्रै प्रतिस्पर्धा गरेको नेकपा एकीकृत समाजवादीको २६९ मत प्राप्त गरेको थियो । कुल जोड्दा गठबन्धनका पक्षमा यो पालिकामा ४ हजार ३७९ मत पुग्छ ।

त्यस्तै यहाँ एमालेले २, ४, ५ र ७ नम्बर गरी चार वडाहरू जितेको छ । उसको पक्षमा २ हजार ९३९ मत मात्रै छ ।

गत स्थानीय निर्वाचनअनुसार यो पालिकामा गठबन्धन दंगीशरणमा१ हजार ४४० मतान्तरले अगाडि देखिन्छ ।

त्यस्तै सातवटा वडाहरू रहेको शान्तिनगर गाउँपालिकामा पनि काँग्रेसले पालिका अध्यक्ष, उपाध्यक्षसहित ३ वडाहरू ३, ५ र ७ जितेको छ । यहाँ काँग्रेसका वडाध्यक्षले २ हजार ४८६ मत प्राप्त गरेका छन् । माओवादीले वडा नं. १ मात्रै जितेको छ ।

यहाँ सात वडामा माओवादीका अध्यक्षहरूले प्राप्त गरेको कुल मत २ हजार ६१० रहेको छ । चार वडाध्यक्षमा उम्मेदवारी दिए पनि नेकपा एकीकृत समाजवादीले जम्मा ३४ मत मात्रै पाएको छ ।

गठबन्धनका सबै दलको मत जोड्दा यहाँ ५ हजार १३० मत पुग्छ । अर्कातर्फ एमालेले यहाँ वडा नं.४ र ७ जितेको छ । उसका अध्यक्षका उम्मेदवारले यहाँ कुल ४ हजार ३२९ मत प्राप्त गरेका छन् ।

त्यसैले गठबन्धन यहाँ जम्मा ८०१ मतान्तरले अगाडि छ । शान्तिनगर २ मा काँग्रेस निकटका स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । उनले ७४८ मत प्राप्त गरेका थिए ।

बबई गाउँपालिका जिल्लाको सबैभन्दा पश्चिमको पालिका हो । सात वडाहरू रहेको यो पालिकामा पनि काँग्रेसले पालिका अध्यक्ष उपाध्यक्ष लगायत वडा नं. २, ५, ६ र ७ नम्बर जितेको छ । काँग्रेसका वडाध्यक्षहरूले यहाँ ५ हजार ७११ मत प्राप्त गरेका छन् ।

एक वडा पनि नजितेको माओवादीका वडाध्यक्षहरूको कुल मत १ हजार ९३३ रहेको छ । त्यस्तै एउटा वडा नं. १ मा भिडेको नेकपा एकीकृत समाजवादीले ५ मत मात्रै प्राप्त गरेको थियो ।

यी सबै गठबन्धन दलहरूको मत जोड्दा प्राप्त गरेको कुल मत ७ हजार ६४९ हो । यो पालिकामा एमाले वडा नं.३ र ४ जितेको छ । उसका वडाध्यक्षहरूले यहाँ कुल मत ५ हजार ४० प्राप्त गरेका छन् ।

काँग्रेस एक्लैले एमाले भन्दा स्थानीय निर्वाचनमा ६७१ मत बढी प्राप्त गरेको छ । गठबन्धन दलहरू सबैको मत जोड्दा एमाले २ हजार ५०९ मतान्तरले पछाडि देखिन्छ ।

दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा गठबन्धन दलहरू ४ हजार ७५० मतान्तरले अगाडि छन् । तर, एमाले तुलसीपुरका चार वडाहरूमा १ हजार ८५९ मतान्तरले अगाडि रहेको छ । जोड घटाउ गर्दा समग्रमा यो प्रदेश सभामा गठबन्धन दलहरू २ हजार ८९१ मतान्तरले अगाडि देखिन्छन् ।

यही अनुसार मत खसे माओवादीका उम्मेदवार मास्की सुरक्षित रहने छन् । तर, स्थानीय तहको जस्तै गरी मत नखसे परिणाम बस्नेतको पक्षमा जाने सम्भावना रहेको स्थानीय नेताहरू बताउँछन् ।

मास्की ‘जनसेना’का कमान्डर हुँदा जिल्लाका हरेक भूगोलमा पुगेका छन् भन बस्नेत पनि एमाले जिल्ला कमान्डर भएका व्यक्ति हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस