ट्वान्टी-२० विश्वकप : आयरल्यान्ड सुपर-१२ मा, वेस्ट इन्डिज बाहिरियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ट्वान्टी-२० विश्वकप : आयरल्यान्ड सुपर-१२ मा, वेस्ट इन्डिज बाहिरियो


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । ओपनर पाउल स्टर्लिङको उत्कृष्ट ब्याटिङप्रेरित आयरल्यान्डले शुक्रबार वेस्ट इन्डिजमाथि नौ विकेटको सहज जित निकाल्दै अस्ट्रेलियामा जारी आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर-१२ मा स्थान पक्का गरेको छ । आयरल्यान्डसँगको हारसँगै दुई पटकको च्याम्पियन वेस्ट इन्डिज भने प्रतियोगिताबाट बाहिरिएको छ ।

जितसँगै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको आयरल्यान्डले तीन खेलबाट ६ अङ्क जोड्यो । तालिकाको पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याएको वेस्ट इन्डिजले भने दुई अंकमात्र जोड्न सक्यो । 

आजै हुने स्कटल्यान्ड र जिम्बाब्वे खेलबाट एक टिमले सुपर-१२ को यात्रा तय गर्नेछ । समान दुई अङ्क जोडे पनि तालिकामा स्कटल्यान्ड दोस्रो र जिम्बाब्वे तेस्रो स्थानमा छ ।

होबर्टस्थित बेल्लेरिभ ओभलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १७।३ ओभरमा एक विकेट गुमाएर १५० रन बनायो ।

आयरल्यान्डको जितमा ओपनर पाउल स्टर्लिङले अविजित ६६ रन बनाए । उनले ४८ बलमा ६ चौका दुई छक्का प्रहार गरे । कप्तान एन्डी बलबिर्नी ३७ रनमा आउट हुँदा लोर्कन टकर ४५ रनमा अविजित रहे । 

वेस्ट इन्डिजका लागि एकमात्र विकेट एकेइल हुसैनले लिए । 

यसअघि, टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४६ रनको योगफल खडा गरेको थियो । उसका लागि ब्रान्डन किंगले अविजित ६२ रन बनाएका थिए । ओडिन स्मिथले १९ रन बनाउँदा कप्तान निकोलस पुरन र एभिन लेविसले समान १३ रन बनाए ।

आयरल्यान्डका ग्यारेथ डेलेनीले तीन विकेट लिए । सिमी सिंह र बेरी म्याककार्थीले समान एक एक विकेट लिए । 

स्कटल्यान्ड र जिम्बाब्वेको खेलसँगै विश्वकपको पहिलो चरण समाप्त हुनेछ । समूह ‘ए’बाट यसअघि नै श्रीलंका र नेदरल्यान्ड्सले सुपर १२ मा स्थान बनाइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस