डोटीमा निर्वाचन आचार संहिता पूर्ण पालना गर्ने/गराउने प्रतिबद्धता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीमा निर्वाचन आचार संहिता पूर्ण पालना गर्ने/गराउने प्रतिबद्धता


३ कार्तिक २०७९, बिहिबार


डोटी । आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न डोटीका सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् । निर्वाचन आचार संहिता पूर्ण पालन गर्ने/गराउने सम्बन्धमा उनीहरूले प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला निर्वाचन आचार संहिता अनुगमन समिति डोटीले बिहीबार आयोजना गरेको आचार संहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायहरूले आचार संहिता कार्यान्वयन गर्ने र कसैले उलङ्घन गर्न नपाइने सुझाव समेत दिएका छन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचार संहिताको पूर्ण पालन गर्न आवश्यक रहेको जिल्ला निर्वाचन आचार संहिता अनुगमन समिति डोटीका सह संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनिन, ‘निर्वाचनलाई शान्त भयरहित वातावरणमा सम्पन्न गर्ने हामी सबैको दायित्व हो, सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ, निर्वाचनको लागि अन्य व्यवस्थापकीय क्षेत्रमा तिब्र रूपमा तयारी भइरहेको छ ।’

निर्वाचनलाई शान्त, निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पूर्ण पालना आवश्यक रहेको जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी करुणाकर पन्तले बताए । निर्वाचनलाई सम्पन्न गर्न आम नागरिकको दायित्व रहेका समेत पन्तले बताए ।

कार्यक्रममा बोल्दै अधिकांश सहभागीहरूले निर्वाचन आयोगले जारी गरेको आचार संहिता सम्बन्धित सबै निकायले पूर्ण रूपमा परिपालन गर्नुपर्ने, आचार संहिता पालना गरे, नगरेको अनुगमन गर्नुपर्ने, निर्वाचन आचार संहिता उलङ्घन गर्नेलाई नियम अनुसार कारबाही गर्नु पर्ने लगाएका सुझाव समेत दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस