कमल थापासँग असन्तुष्ट नेताले गरे प्रचण्डसँग भेट, के भयो छलफल ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कमल थापासँग असन्तुष्ट नेताले गरे प्रचण्डसँग भेट, के भयो छलफल ?


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापासँग असन्तुष्ट पदाधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

मङ्गलवार बिहान खुमलटार पुगेका राप्रपा नेपालका पाँच पदाधिकारीले प्रचण्डसँग छलफल गरेका हुन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न राप्रपा नेपालका उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य पुगेको खुमलटार स्रोतले बताएको छ ।

राप्रपा नेपालका अध्यक्ष थापा मकवानपुर १ बाट एमालेको सहयोगमा चुनाव लड्दैछन् । आफ्नो चुनाव चिन्ह छाडेर सूर्यबाट लड्ने थापाको निर्णयप्रति पार्टीमा असन्तुष्टि बढेको छ । पछिल्लो समय पार्टीकेन्द्रित नभई एमालेको चुनावी प्रचारमा लागेको गुनासो गरिरहेका नेताहरूको प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

तर, अध्यक्ष थापाले भने आफ्नो पार्टी, विचारलाई जोगाउन चुनौती भएकाले सूर्य चिन्हको साथ लिएको बताउँदै आएका छन् ।

‘मैले राष्ट्रवादी पार्टीको रूपमा पहिचान बनाएको पार्टीसँग सहकार्य गरेको हुँ । मैले राष्ट्रवादी अडान लिएकै कारणले मलाई सिद्ध्याउन अनेक षड्यन्त्र भएको छ’ थापाले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस