जसपासँग तालमेलपछि धनुषा एमालेमा पनि विद्रोह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपासँग तालमेलपछि धनुषा एमालेमा पनि विद्रोह


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेलको निर्णयपछि नेकपा (एमाले) धनुषामा विद्रोह हुने देखिएको छ । तालमेलका कारण टिकट नपाएपछि क्षेत्र १ मा एमाले नेता किशोरी साह (कमल)ले बागी भएर उम्मेदवारी दिने तयारी गरेका छन् । 

साह यसअघि सोही क्षेत्रको प्रदेशसभा क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थिए । तर, जसपासँग एमालेले गरेको चुनावी तालपछि यो क्षेत्र जसपाको भागमा परेको छ । साह एमाले प्रदेश कमिटी सदस्य र प्रदेशसभामा दलको प्रमुख सचेतकसमेत थिए ।

नेता साहले उम्मेदवार बन्न जनताको दबाब भएको कारण स्वतन्त्र वा कुनै दलसँग आबद्ध भएर उम्मेदवारी दिने बताए । तर, अहिलेसम्म दलको टुङ्गो नलागेको उनको भनाइ छ । 

क्षेत्र नम्बर १ एमालेसँगको गठबन्धनमा जसपाले पाएको छ भने प्रदेशतर्फ ‘क’ जसपा र ‘ख’ एमालेको भागमा परेको छ । एमाले–जसपा गठबन्धन, एमालेका बागी र सत्तारुढ गठबन्धनका तर्फबाट अलग उम्मेदवार हुने भएपछि यहाँ अब त्रिपक्षीय भिडन्त हुने देखिएको छ । 

प्रतिनिधिसभामा जसपाले दीपक कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को भागमा यो क्षेत्र परेको छ । त्यहाँ माओवादीले मातृकाप्रसाद यादवलाई उम्मेदवार बनाउने निश्चितजस्तै छ । अब एमाले त्याग गरेर किशोरी साहले पनि उम्मेदवारी दिँदा यहाँ त्रिपक्षीय भिडन्त हुने देखिन्छ । 

धनुषाको क्षेत्र नम्बर २ मा भने एमाले र जसपाबीच सहमति हुन सकेको छैन । त्यहाँ दुवै पार्टीबीच मित्रवत् प्रतिस्पर्धा हुने बताइएको छ । त्यहाँ प्रतिनिधिसभातर्फ गतसाता एमाले प्रवेश गरेका उमाशङ्कर अरगरिया उम्मेदवार बन्नेछन् भने जसपाले गङ्गाराम यादवलाई उम्मेदवार बनाउने तय गरेका छ । 

अरगरिया लोसपा परित्याग गरी एमाले प्रवेश गरेपछि गङ्गाराम एमाले त्याग गरी जसपामा पुगेका हुन् । सत्ता गठबन्धनबाट यो क्षेत्र नेपाली काँग्रेसको भागमा परेका छ । यहाँ काँग्रेसले रामकृष्ण यादवलाई उम्मेदवार बनाउने छ । यो क्षेत्रमा नेकपा ९एकीकृत समाजवादी०को पनि दाबी छ । एकीकृत समाजवादीले यो क्षेत्र पाए रामचन्द्र झालाई उम्मेदवार बनाउनेछ । 

तालमेलको निर्णयअनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र ३ र ४ मा जसपाले एमालेलाई सघाउने भएको छ । प्रदेशसभातर्फ यो दुवै क्षेत्रको ‘ख’ एमालेको भागमा परेको छ भने ‘क’ जसपाको भागमा छ ।

निर्वाचन क्षेत्र ३ बाट एमालेले जुलीकुमारी महतो र ४ मा रघुवीर महासेठलाई अगाडि सारेको छ । क्षेत्र नम्बर ४ सत्ता गठबन्धनबाट काँग्रेसको भागमा पर्दा क्षेत्र नम्बर ३ बारे भने अहिलेसम्म टुङ्गो लागेको छैन । क्षेत्र नम्बर ४ बाट काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले उम्मेदवारी दिने छन् भने ३ लोसपालाई दिने गरी गृहकार्य भइरहेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस