प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बन्न आयोगले तय गर्‍यो यस्ता मापदण्ड (सूचीसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बन्न आयोगले तय गर्‍यो यस्ता मापदण्ड (सूचीसहित)


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न आवश्यक मापदण्ड तय  गरेको छ।

आयोगको बिहीबार बसेको बैठकले उम्मेदवारी दिन आवश्यक पर्ने योग्यता मापदण्ड जारी गरेको प्रवक्ता शालिग्राम पौडेलले बताए।

मापदण्डअनुसार विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्तिले प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवार बन्न पाउने छैनन्। 

प्रतिनिधिसभाका हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभाका हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ।

त्यस्तै उम्मेदवार बन्न २५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने लाभको पदमा कायम रहेको अवस्थामा उम्मेदवारी दिन पाइने छैन। ‘लाभको पद’ भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनुपर्ने आयोगले भनेको छ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछ।’

निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाएर दुई वर्षभन्दा कम सजाय भोगेमा पनि उम्मेदवार हुन नपाउने आयोगको मापदण्ड छ।

भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग लगायतका फौजदारी कसुरमा दोषी प्रमाणित व्यक्ति पनि उम्मेदवार हुन अयोग्य हुनेछन्।

त्यस्तै सङ्गठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाएको वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन पाउने छैन। यस्ता व्यक्ति उम्मेदवार भएको थाहा भए कसैले पनि उजुरी दिन सक्नेछन्।

‘मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने अन्य कुनै उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी दिन सकिने व्यवस्था छ,’ आयोगले भनेको छ।

उजुरी परेको मनोनयनपत्र र दर्ता भएका मनोनयनपत्र जाँच गर्दा कानुनबमोजिम उम्मेदवार हुन आवश्यक योग्यता

पूरा नगरेको र अयोग्य रहेको भए सम्बन्धित निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारी बदर गर्ने आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस