चीनबाट साझाका ३७ बिजुली बस नेपाल ल्याइँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनबाट साझाका ३७ बिजुली बस नेपाल ल्याइँदै


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ ।  साझा यातायातले ल्याउने थप बिजुली बस चीनबाट नेपालतर्फ ल्याउन सुरु गरिएको छ । साझा यातायातले ट्टिटरमार्फत कोदारी (तातोपानी नाका) हुँदै ३७ वटा बस ल्याउन सुरु गरिएको जानकारी दिएको छ ।

३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले २३ असारदेखि काठमाडौँमा सेवा थालेका थिए । पहिलो चरणमा ल्याइएका बिजुली बस साझाले नियमित सेवा दिँदै आएका रुटहरूबाट सेवा दिइरहेको छ ।

दसैँसम्म बाँकी ३७ वटा पनि ल्याइसक्ने तयारी रहेको साझाले बताएको थियो । चीनको सीएचटीसीएचओ बसको आपूर्तिकर्ता कम्पनी ‘दि गो’सँग साझाले करिब ६१ करोड रुपैयाँमा ४० वटा बस किनेको हो ।

अहिले ९ मिटर लामो बस किनिएको छ । यसपछि १२ मिटर लामा र अन्तर प्रदेश चल्ने विद्युतीय बसहरू पनि ल्याउने साझाको योजना छ । अहिले चलेका बसहरूमा वाइफाइ, टिभी डिस्प्ले, सिसी क्यामेरा लगायत विशेषता पनि छन् । अपाङ्गहरू चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरू थप्दै जाने साझाले जनाएको छ ।

सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बसहरू किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । साउन २०७६ मा यातायात मन्त्रालयले हतार–हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो ।

स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोज २०७६ मा ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीँ रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि माघ २०७६ मा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो ।

तर, माघ २०७७ मा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । सरकारले रकम फिर्ता लगेपछि बागमती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए ।

सरकारले बस किन्दा चलखेल हुन लागेको आशङ्का गरेर करिब डेढ वर्ष खेर फालिदिएको थियो । पछि सरकारले साझालाई नै पैसा फिर्ता गरिदिएको थियो ।

साझा यातायातका सञ्चालक भूषण तुलाधरले थप बिजुली बस किन्न तयारी थालिएको बताए । उनका अनुसार बिजुली बस निर्माता र आपूर्तिकर्ता कम्पनीलाई आफूसँग उपलब्ध बसको सुविधा र विशेषतासहितको स्पेसिफिकेसन दिन आग्रह गरिएको छ ।

अहिले नै कतिवटा थप बस किन्ने भन्ने निर्णय भइनसकेको उनले बताए । तर, २०-२० वटा गरेर ४ प्रकारका बसका लागि स्पेसिफिकेसन मागि सकिएको छ ।

साझा यातायातले अन्तर प्रदेश समेत चल्ने गरी बिजुली बस ल्याउन तयारी गरिरहेको छ । एकै पटक ठूलो सङ्ख्यमा बस ल्याउँदा चार्जिङ र पार्किङको पनि समस्या हुने भएकाले अबको लटमा पनि धेरै ठूलो संख्यामा बस नलाइने साझाले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस