एमालेका उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एमालेका उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए ।

अन्य दलसँग तालमेलको कुरा टुंगिन बाँकी रहेकाले पनि थप छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णय लिन नेताहरु सहमत भएका छन् । एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ । बाँकी निर्वाचन क्षेत्रमा एक भन्दा बढी आकांक्षीको नाम सिफारिस भएर आएको छ ।

बैठकले एकल सिफारिस भएर आएका नेताहरुबारे पनि निर्णय गरेन । ‘एकल सिफारिस भएर आएका नाममा पनि कुनै विवाद भए सम्बन्धित कमिटीका नेताहरुसँग परामर्श लिने भन्ने भएको छ’, अर्का पदाधिकारीले भने ।

परामर्श लिएर निर्णय लिने जिम्मा भने अध्यक्ष ओलीलाई दिइएको छ । ‘अध्यक्षले नै आवश्यक परामर्श गर्नु हुनेछ र आवश्यक पर्दा अर्को सचिवालय बैठक बस्न सक्छ’, ती पदाधिकारीले भने । तर दशैं लगत्तै प्रत्यक्ष तर्फको मनोनयन दर्ता हुने भएकाले अर्को बैठक बस्नेबारे भने निश्चित छैन ।

एमाले बैठकमा प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० निर्वाचन क्षेत्रकै बारेमा छलफल भएको थियो । तर समानुपातिक तर्फको बन्दसूचीबारे भने बैठकमा छलफल भएन ।

यसअघि नै समानुपातिक तर्फको बन्दसूचीलाई अन्तिम रुप दिने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस