आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनको लागि भवन र कर्मचारी अभाव देखिएको छ। हाल ताल्छीखेलस्थित भाडाको भवनबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ। 

हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन्। त्यसमा पनि ७ जना मात्रै स्थायी हुन्। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका वरिष्ठ कविराज निरीक्षक ईश्वरीप्रसाद ढकालले भवन र कर्मचारी अभावका कारण प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको जानकारी गराए। उनका अनुसार भवन र पर्याप्त कर्मचारी हुने हो भने जिल्लाका सबै स्थानमा आयुर्वेद उपचारको सहज पहुँच पुर्‍याउन सकिन्छ। तर, जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद औषधालय सेवाको पहुँच पुगे पनि प्रभावकारी भने छैन। 

उनका अनुसार एक वर्षको अवधिमा जिल्लामा झन्डै दश हजारले आयुर्वेदिक उपचार सेवा लिएका छन्। यहाँ २३ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको छ। केन्द्रकी आयुर्वेद चिकित्सक डा।सृष्टि श्रेष्ठले पनि सबैको पहुँचमा आयुर्वेद उपचार सेवा पुग्न नसकेको जानकारी दिइन्। उनका अनुसार जिल्लाका बागमती, कोन्ज्योसोम र महाकांल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ। तर, तीनमा जम्मा दुईजना कर्मचारी मात्रै छन्। व्यवस्थित संरचना नहुँदा र कर्मचारीको अभाव हुँदा सहज स्वास्थ्य सेवा दिन सकिएको छैन। 

जिल्लामा ललितपुर महानगरपालिका, गोदावरी, महालक्ष्मी नगरपालिकामा पनि आयुर्वेद सेवा केन्द्रको कार्यालय खोलिएको छ। तर, कर्मचारी अभावका कारण त्यसलाई सञ्चालन गर्न कठिन भइरहेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस