नासुका कर्मचारी जसको अवकाश जीवनमा ६ वटा मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नासुका कर्मचारी जसको अवकाश जीवनमा ६ वटा मुद्दा


८ आश्विन २०७९, शनिबार


काठमाडौँ । सार्वजनिक सेवामा लामो समय गुजारेर अवकाश पाइसकेकालाई जीवनको उत्तरार्धमा भ्रष्टाचार मुद्दा खेप्नु व्यक्तिगत र सामाजिक प्रतिष्ठा सबै हिसाबमा सकसपूर्ण हुन्छ । तर, एक जना कर्मचारी अवकाश जीवनमा ६ वटा मुद्दा झेलिरहेका छन् । उनी हुन्, निजामती सेवामा ३० वर्ष बिताएका मदनकुमार गुप्ता । उनै गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो उनीविरुद्धको छैटौँ मुद्दा हो । ०७६ देखि उनी लगातार मुद्दा खेपिरहेका छन् ।

अति गरेपछि खति हुन्छ भनिन्छ । सरकारी सेवामा छँदा अनियमितताको उग्रता प्रदर्शन गरेका उनको थाप्लोमा अहिले पाँच वटा मुद्दाको भारी छ । उनी आफैँ पुर्पक्षका लागि हिरासतमा छन् । खरिदारबाट सरकारी सेवा प्रवेश गरेका गुप्ताले २९ वर्षको जागिरे अवधिमा अनियमितता गरेरै करिब १५ करोड बराबरको सम्पत्ति थुपारे । औसत परिवार चलाउन पनि मुस्किल हुने नासुको पदमा रहेरै उनले त्यति ठुलो परिमाणमा सम्पत्ति जोरजाम गरे । १० मंसिर ०७६ मा अख्तियारले उनीविरुद्ध गैर कानुनी सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको थियो । सम्पत्ति विवरण केलाउँदा देखिएको १४ करोड ८१ लाखको अवैध आयलाई बिगो कायम गरेर अख्तियारले अदालतमा मुद्दा दायर गरेको थियो । ०७५र७६ को साउनदेखि १२ फागुनसम्म सिमरा मालपोतमा रहँदा मात्रै उनले राजस्वबापतको साढे चार करोड हिनामिना गरेको अख्तियारको दाबी छ ।

भ्रष्टाचार गरेर आर्जित सम्पत्तिबाट उनले परिवारका सदस्यका नाममा चार करोड आठ लाखको घर र ९० लाखको जग्गा किने, व्यवसायमा ७१ लाख लगानी गरे, २७ लाखको गाडी किने । छोराको विवाहमा ६१ लाख खर्च गरेका उनले ४३ लाख सापटी दिएको अख्तियारको दाबी छ । आफू र परिवारका सदस्यबाहेकका नाममा समेत घरजग्गा, सवारीसाधन खरिद, व्यवसायमा लगानी तथा बैङ्क मौज्दात राखे । अख्तियारले दायर गरेको मुद्दा विवरणबाट मालपोत बढी भ्रष्टाचार हुने अड्डामा पर्छ । एउटा मालपोतबाट अर्कोमा चक्कर लगाउँदै उनले करिब तीन दशक जागिर खाए । सरकारी कोषमा जम्मा गर्नुपर्ने मालपोत राजस्वमा व्यापक हिनामिना गरेर उनले खल्ती भरेका थिए ।

गुप्ताविरुद्ध अख्तियारले यसअघि ०७६ जेठ १ मा दुई वटा, ३ जेठमा एउटा, २ र ८ मंसिरमा एक–एक वटा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध आयोगले कागजपत्र हिनामिना, राजस्व खाइमासेको र गैर कानुनी सम्पत्ति आर्जनलगायत अभियोगमा मुद्दा चलाएको छ । शुक्रबार भने अख्तियारले १२ लाख ३७ हजार ९ सय ६२ रुपैयाँ सेवाग्राहीबाट सङ्कलित मालपोत राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ । राजस्व रकम सरकारी कोषमा दाखिला नगरी हिनामिना गरेको भन्दै अख्तियारले त्यही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

प्रदेश मन्त्रीकी पत्नीविरुद्ध मुद्दा
शुक्रबार नै अख्तियारले प्रदेश मन्त्रीकी पत्नीविरुद्ध मुद्दा दायर गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ बहादुर सोडारीकी पत्नी गीता सोडारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । कैलालीको धनगढी– ९ स्थित शिव माविमा राहत शिक्षकका रूपमा कार्यरत सोडारीविरुद्ध झुटा प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश र कार्यरत भएको अभियोगमा मुद्दा दायर भएको हो । बोर्ड अफ सेकेन्डरी इजुकेसन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

शुक्रबार नै आयोगले अन्य पाँच मुद्दा विशेष अदालतमा दायर गरेको छ । सप्तरीको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवनारायण यादवउपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा एक लाख ८० हजार र अर्को २१ हजारको गरी दुई वटा बिगो कायम गरेर मुद्दा दायर भएको छ ।

त्यस्तै, सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा सुर्खेतको साबिक घुमखहरे गाविसका तत्कालीन सचिव खड्कबहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक खगेन्द्रप्रसाद उपाध्याय तथा उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्तीविरुद्ध मुद्दा दायर गरेको छ । बाँकेको कोहलपुर नगरपालिका– ४ रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनुकुमारी पाण्डे र सचिव दिलमाया रानाविरुद्ध अर्को मुद्दा दायर भएको छ ।

यसै गरी डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजन वन अधिकृत गोविन्दप्रसाद दाहाल, सहायक वन अधिकृत टेकबहादुर रावल, एलिसा डिजाइन्स एन्ड बिल्डर्सका प्रोप्राइटर लोकेन्द्र राना र कोटेश्वर दरबार निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर बस्नेत, उपाध्यक्ष ध्रुवकुमार सिंह, सचिव युवराज पोखरेल र कोषाध्यक्ष पदमाकुमारी बुढाविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।

गैर कानुनी लाभको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भीमबहादुर खत्री, नासु रुद्रसेन साहु, बढैयाताल गाउँपालिका वडा नं। ६ का सैजाद अलि तेली र जैनव तेली, सोही वडाका वडाध्यक्ष रामहरष थारू र वडा नं। ८ निवासी अञ्जना दाहाललाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस