काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सङ्घको प्रचार भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गरेका हुन् ।
पोखरेलले गठबन्धनले भविष्यको प्रधानमन्त्री को हो भनेर समेत भन्न नसक्ने दाबी गरे । उनले पाँच दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री घोषणा गर्नका लागि आह्वान पनि गरे ।
पाँच दलीय गठबन्धन आफ्नो उद्देश्य प्रस्तुत गर्ने सामर्थ्य नभएको उनको भनाइ छ ।
महासचिव पोखरेलले नेपाल लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब धेरै राजनीतिक दलहरूको आवश्यकता नरहेको जिकिर गरे ।
उनले ध्रुवीकरण र राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्नको लागि पाँच दलीय गठबन्धन अघि बढिरहेको आरोप लगाए ।
महासचिव पोखरेलले देश केपी ओलीको नेतृत्वमा अघि बढ्ने हो वा शेरबहादुर देउवाको नेतृत्वमा अघि बढ्छ भन्नेकुरा आगामी मंसिर ४ गते जनमतसंग्रह हुने बताए ।
उनले नेपाली काँग्रेसलाई देशको यथास्थितिको प्रतिनिधिमूलक पात्र भएको आरोप लगाए । नेपाली काँग्रेसको नेतृत्वमा परिवर्तन र समृद्धिको अपेक्षा गर्न नसकिने उनको भनाइ छ ।







