अनशनरत डा.केसी आफ्नै खर्चमा काठमाडौँ प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनशनरत डा.केसी आफ्नै खर्चमा काठमाडौँ प्रस्थान


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै विगत  १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै खर्चमा काठमाडौँ हिँडेका छन् । सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौँ गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनी अहिले पौने ५ बजेको प्लेन मार्फत काठमाडौँ प्रस्थान गरेका हुन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौँ गएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए ।

मंगलबार सम्म माग पुरा नभएसम्म काठमाडौं नजाने अडानमा बसेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनी काठमाडौँ जान सहमत भएका हुन् । काठमाडौँमा केसीलाई टिचिङ हस्पिटलमा राखेर उपचार दिइने जनाइएको छ ।

स्वास्थ्य समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाडौँ लैजाने प्रयास गरेको थियो । तर केसीले सरकारी खर्चमा नजाने अडान लगेपछि उनलाई ओसार्न धनगढी पुगेको नेपाली सेनाको एयर ट्रक काठमाडौँ फर्केको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस