अङ्क फेरबदलको मुद्दामा त्रिवि सेवा आयोगका अध्यक्षले पाए सफाइ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अङ्क फेरबदलको मुद्दामा त्रिवि सेवा आयोगका अध्यक्षले पाए सफाइ


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । विशेष अदालतले उत्तरपुस्तिका परीक्षण र अङ्क फेरबदल गरेर भ्रष्टाचार गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा सहितका पदाधिकारीहरुलाई सफाइ दिएको छ । दुई जनाबाहेक आरोप लागेका सेवा आयोगका कर्मचारीहरु दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू यमुना भट्टराई र डा.खुसीप्रसाद थारुको इजलासले मंगलबार पदाधिकारीहरुमाथिको आरोप पुष्टि हुन नसक्ने ठहर गर्दै संलग्न कर्मचारीहरूलाई मात्रै दोषी ठहर गरेको विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए ।

त्रिवि सेवा आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइरालालाई भने ९ महिना कैद सजाय भएको छ । उनले ८ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । प्रश्नपत्र जोडिएको अर्को मुद्दामा भने पुस्तकालयकी सहप्रशासक इन्दिरा घिमिरे बाहेक सबैले सफाइ पाएका छन् ।

मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिविका प्राध्यापक टेकनाथ ढकाल, सह-प्राध्यापकहरू राजेश्वर न्यौपाने र राम बहादुर पाण्डे क्षेत्री दोषी ठहर भएका छन् । उनीहरूले ४ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । यीमध्ये रामबहादुर पाण्डे क्षेत्रीको निधन भइसकेको छ ।

आरोपितमध्ये प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापकहरू ताराप्रकाश पौडेलले सफाइ पाएका छन् । अख्तियारले १८ असार २०७६ मा १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीहरूमाथि त्रिवि सेवा आयोगबाट सार्वजनिक भएको विज्ञापनका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी पदाधिकारी र कर्मचारीहरूले आफन्त उत्तीर्ण गराई अनियमितता गरेको आरोप थियो ।

२८ फागुन २०७३ का विभिन्न पदमा भएका १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदको विज्ञापनमा अनियमितता भएको थियो । शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ वटा पदहरूको लिखित परीक्षामा अनियमितता भएको थियो ।

शाखा अधिकृतका लागि २४ जनाको पद रहेकोमा ६ जनाको उत्तरपुस्तिका शङ्कास्पद रूपमा केरमेट र फेरबदल भएको थियो । एकजना परीक्षार्थीलाई पहिलो विषयमा १७ र तेस्रो विषयमा १६ नम्बर थपेर पास बनाइएको थियो । अर्को एक जना परीक्षार्थी पास हुनुपर्नेमा नाम छुटाइ फेल बनाइएको थियो ।

अरू २ जनामध्ये एकजनाको दुई विषयमा ९ र १४ अङ्क घटाएर फेल बनाइएको थियो । अख्तियारले यो काममा उत्तरपुस्तिका परीक्षक गोविन्द ढकाल र टेकनाथ ढकालको संलग्नता भएको आरोप लगाएको थियो ।

२४ वटा लेखा अधिकृत पदमा समेत त्यस्तै भयो । कतिपयको अङ्क घटाउने र कतिपयको बढाउने काम भएको थियो । सम्परिक्षणका क्रममा समेत अङ्क फेरबदल भएको थियो । अख्तियारको दाबी अनुसार, ७ जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट भएको थियो । यीमध्ये सबै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा अङ्क थपिएको थियो । अख्तियारले लेखाको कपी जाँच्ने क्रममा राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएको थियो ।

सहायक कानुनी सल्लाहकार पदको परीक्षामा समेत त्यस्तै भयो । तीनजना मध्ये एकजनाको ३७ नम्बर आएकोमा १५ थपिदिएर ५२ पुर्‍याइएको थियो । अरू दुई जनाको अङ्क घटाएर ५० बनाइएको थियो । यो काममा ताराप्रकाश पौडेल संलग्न भएको अख्तियारको आरोप थियो । मुख्य लेखा सहायक पदमा समेत यस्तै भयो । अख्तियारले त्यसमा राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालमाथि भ्रष्टाचार गरेको आरोप लगायो ।

मुख्य कार्यालय सहायक पद भएको अनियमिततामा रामबहादुर पाण्डे र संपरीक्षक टेकनाथ ढकालमाथि भ्रष्टाचार मुद्दा लाग्यो । कार्यालय सहायक पदमा भएको लिखित परीक्षामा समेत अनियमितता भयो । अख्तियारले यसमा समेत टेकनाथ ढकालको संलग्नता रहेको आरोप लगायो । आरोपपत्र अनुसार, केरमेट गरी सच्याउने काम सबैजसो विद्यार्थी उत्तीर्ण भएका थिए । केरमेट गरिएकोमा पनि अधिकांश उत्तरपुस्तिकाहरुको सुरुमा दिएको अङ्क नबुझिने गरी केरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस