देशभर सुपथ मूल्य पसलको व्यवस्था गर्न संसदीय समितिको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशभर सुपथ मूल्य पसलको व्यवस्था गर्न संसदीय समितिको निर्देशन


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । संसदीय समितिले दसैँ, तिहार, छठजस्ता पर्वहरूका लागि देशभर सुपथ मूल्य पसलहरूको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

दसैँ, तिहारजस्ता चाडपर्वको बेला बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउन र सुपथ मूल्य पसलको आवश्यक व्यवस्था देशभर मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए । बैठकले दसैँका लागि घर जाने यात्रुहरूको लागि सहज ढङ्गले टिकट पाउने गरी काउन्टरहरूको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

समितिले सवारी साधनको भाडादर जथाभाबी लिन नपाउने गरी अनुगमनको काममा कडाइ गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको छ । शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति पन्थले बताए । बैठकमा समितिका सदस्यहरूले चाडबाडको बेला दुर्घटना हुन नदिने गरी ट्राफिक प्रहरी परिचालन गर्न सरकारलाई सचेत गराएका थिए । सांसद एवम् पूर्वगृहमन्त्री वामदेव गौतमले शान्ति सुरक्षा र सवारी दुर्घटना हुनै नदिने गरी राजमार्गहरूमा प्रहरी परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए । 

समितिकी अर्का सदस्य नन्दा चपाईले सवारी दुर्घटनाबाट नागरिकको जीवन जोगाउनका लागि सरकारले गाडी चालकहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने बताइन् । समितिका सदस्यहरूले कालोबजारी नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस