भारतीय एसएसबी प्रमुख नेपाल आउँदै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भारतीय एसएसबी प्रमुख नेपाल आउँदै


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी)का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादै)गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको छ ।

सशस्त्र प्रहरी बल र एसएसबीबीच हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन एसएसबी प्रमुख थाओसेन नेपाल आउन लागेको सशस्त्र प्रहरी बलले जनाएको छ । बैठक बुधबारदेखि नै हुने तय भएको थियो तर भारतबाट कार्यक्रम केही दिन स्थगित गर्न आग्रह आएपछि बैठक सारिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विदुर खड्काले बताए ।

उनले आगामी साता बैठक बस्ने गरी तयारी भइरहेको र गृह मन्त्रालयले त्यसको मितिको बारेमा छलफल गरिरहेको बताए । गृह मन्त्रालयबाट बैठकको कार्यतालिका आइसकेपछि थप तयारीमा लाग्ने उनको भनाइ छ ।

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र एसएसबीबीच सूचना आदानप्रदान, अन्तर्राष्ट्रिय सीमा सुरक्षालगायत सीमामा हुने अन्तरदेशीय शङ्कास्पद गतिविधिलाई कसरी रोक्ने लगायतको विषयमा छलफल हुने उनले बताए ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको एसएसबीका प्रमुख थाओसेनले आआफ्नो टोलीको नेतृत्व गर्ने बताइएको छ । नेपाल र भारतका सीमा सुरक्षा बलबीच सन् २०१२ देखि यस्तो बैठक हुन लागेको हो । नेपाल र भारतबीच एक हजार ८१८ किलोमिटर लामो खुला सीमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस