मंसिर ४ गतेको चुनाव अवज्ञा गर्ने नेकपा (बहुमत)काे घोषणा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

मंसिर ४ गतेको चुनाव अवज्ञा गर्ने नेकपा (बहुमत)काे घोषणा


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले आगामी मंसिर ४ गते हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ ।

शनिबार राजधानीमा तेस्रो केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक कार्यक्रममा बोल्दै सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले निर्वाचन अवज्ञा गर्ने जानकारी दिएका हुन् ।

उनले आफ्नो पार्टीका नेता–कार्यकर्ता माथिका झुट्टा मुद्दाहरु खारेज गर्ने देउवा सरकारलाई धन्यवाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरे ।

उनले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको निम्ति भन्दा पनि निजी स्वार्थका निम्ति राष्ट्रघात गर्ने माध्यम भएकाले त्यसलाई अवज्ञा गर्नुको विकल्प नरहेको बताए । आफूहरुले निरपेक्षित रुपमा चुनाव अवज्ञा वा बहिस्कार र संघर्ष मात्रै नरोजेर त्यसको निकासका लागि तत्काल स्वाधीन संयुक्त सरकारको विकल्पसहित अगाडि बढेको जिकिर उनले गरे ।

देउवा सरकारले नागरिकता विधेयक भारतीयहरुको योजनामा लाएको बताउँदै उनले विवाहको भोलिपल्टै विदेशीलाई नागरिकता दिने राष्ट्रघाती कदम भएको बताए । उनले भने, ‘राष्ट्रमाथि दीर्घकालीन असर र बहुसंख्यक जनताको आवाजलाई लत्याउँदै जनविरोधी सत्ताको निरन्तरताको लागि चुनावको पूर्वसन्ध्यामा यो घातक विधेयक ल्याइएको छ जुन हामीलाई मान्य छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस