बैतडीमा ६ महिनादेखि हवाई सेवा बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा ६ महिनादेखि हवाई सेवा बन्द


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी-बैतडी-धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई उडान ६ महिनादेखि बन्द रहेको हो ।

हवाई उडान नहुँदा जिल्लाबाट आकस्मिकरुपमा धनगढी पुग्नुपर्ने नागरिक समस्यामा परेका छन् भने आकस्मिकरुपमा बिरामी भएकालाई ल्याउन/लैजान तथा अन्य कामका लागि जाने आउने नागरिक समस्यामा परेका हुन् । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न कम्तीमा आठ घण्टा लाग्ने गर्दछ ।

यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भएको र असोज पहिलो साताबाट पुनः सञ्चालन हुने समिट एयर पाटनले जनाएको छ । चैतअघि नियमित रूपमा उडान हुने गरेकामा त्यसपछि यात्रु नपाउँदा र मौसम अनुकूल नहुँदा उडान हुन नसकेको हो ।

चैतपछि केही महिना समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भरिरहेको हुनाले पाटन नआएको समिट एयर पाटनका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले बताए ।

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते अन्तिमपटक उडान भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस