एक वर्षमै फेरियो नेपाली सेनाको संरचना, अब ८ पृतना रहने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक वर्षमै फेरियो नेपाली सेनाको संरचना, अब ८ पृतना रहने


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली सेनाको तीन जोड एक कमाण्ड संरचना कायम राख्दै आठ पृतना थप हुने भएको छ ।

२१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले सेनामा पुरानो संरचना ब्युँताउने नेपाली सेनाको निर्णयलाई स्वीकृति दिएको हो । अब फेरि नेपाली सेनामा आठ वटा पृतना रहने छन् ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई कमाण्ड संरचनामा लगेका थिए । त्यस बेला सैनिक सङ्गठनलाई समयसापेक्ष पुनरसंरचना गर्न भन्दै नदीको आधारमा पूर्वी, मध्य, पश्चिम र उपत्यका गरी चार वटा संरचना राखिएको थियो ।

तर हालका प्रधानसेनापति प्रभुराम शर्माले त्यसलाई उल्टाएका छन् । मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार अब नेपाली सेना फेरि २०७४ अघिकै संरचनामा जाने छ । जसअनुसार पूर्वी, मध्य, मध्यपूर्वी, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतना गरी आठ पृतना रहने छन् । तर तीन जोड एक कमाण्ड संरचना पनि तत्काललाई यथावत रहने भनिएको छ ।

सरकारका अन्य निकायहरूसँगको समन्वयको आवश्यकतालाई मध्यनजर गर्दै सेनालाई पुरानै संरचनामा लगिएको सैनिक स्रोतले बतायो ।

तीन जोड एक संरचना २०७८ असार १ गतेदेखि लागू भएको थियो । तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको पुनर्संरचना गर्दा २०६९ सालदेखिकै सांगठिनक संरचनालाई तीन चरणमा सुधार गर्ने योजना र २०७१ को नेपाली सेनाको पुन ढाँचाकै निरन्तरता स्वरूप यो निर्णय गरेको थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस