बच्चा चोरी गर्ने गिरोह भित्रिएका छैनन्, भ्रम फैलाए कारबाही गर्ने साइबर ब्युरोको चेतावनी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बच्चा चोरी गर्ने गिरोह भित्रिएका छैनन्, भ्रम फैलाए कारबाही गर्ने साइबर ब्युरोको चेतावनी


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ । साइबल ब्युरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको बताएको हो ।

ब्युरोले सूचनामा, ‘सामाजिक सञ्जालमा पोस्ट भएको भ्रामक प्रचारमा उल्लेख भयझैँ देशभर रहेका कुनै पनि प्रहरी कार्यालयमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी सूचना प्राप्त भएको छैन,’ उल्लेख गरेको छ ।

पछिल्ला दिनमा भारतबाट सामाजिक सञ्जालमा जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपाल प्रवेश गरेको अफवाह फैलिएपछि साइबर ब्युरोले सूचना जारी गरी कारबाहीको चेतावनी समेत दिएको छ ।

‘सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जोकोहीलाई पनि नेपालको प्रचलित ऐन, कानुन बमोजिम कानुनी कारबाही गरिने ब्यहोरासमेत जानकारी गराउँदछौँ’। सूचनामा उल्लेख छ ।

प्रहरीले सामाजिक सञ्जालमा भ्रम फैलाइए जस्तो नेपालका कुनै पनि प्रहरी युनिटमा त्यस्तो सूचना प्राप्त नभएको उल्लेख गरेको छ । सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै ब्युरोले विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न सूचित गरेको छ ।

सामाजिक सञ्जालमा बच्चा छोरी हुने सूचना भाइरल भएपछि नागरिक आतङ्कित भएका छन् । विद्यालय र सरोकारवालाले समेत सतर्क रहन सूचना जारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस