चिनियाँ नेता ली झान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त हुने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

चिनियाँ नेता ली झान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त हुने


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् ।

चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने छन् । उनले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन् ।

यसअघि हिजो उनले सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । वार्तापछि सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।

यसैबीच, लीको सुरक्षाका लागि भन्दै कठमाडौँमा सवारी आवतजावतमा कडा पारिएको छ । जसका कारण उपत्यकाका तीनवटै जिल्लामा ट्राफिक समस्या भएको थियो । ली आवतजावत गर्ने रुट पूर्णरुपमा खाली गराइएका कारण अन्य क्षेत्रमा पनि प्रभाव परेको ट्राफिक प्रहरीले जनाएको छ । सोमबार काठमाडौँमा करिब तीन घण्टा सवारी साधन समयमा गन्तव्यमा पुग्न पाएनन् ।

प्रहरीका अनुसार आज पनि काठमाडौँ उपत्यकाका प्रमुख मार्गको ट्राफिक सोमबारको जस्तै हुन सक्नेछ ।

मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग हुन लागेको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस