काठमाडौँ । नेपाली काँग्रेस जिल्ला अनुशासन समिति बाराले काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । जिल्ला अनुशासन समितिले बुढाथोकीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी यसअघि नै निलम्बन गरेपनि केन्द्रीय कार्यालयमा भने आइतबार मात्रै पत्राचार गरेको हो ।
आसन्न सङ्घ तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि बुढाथोकीको नाम सिफारिस भएपछि जिल्ला अनुशासन समितिले बुढाथोकीको कारबाही प्रक्रिया तत्काल अगाडी बढाउन पत्राचार गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीभित्र गुटबन्दी गरेर निजगढ नगरपालिका नगर प्रमुखका उम्मेदवार सुरेश खनाललाई हराउन बुढाथोकीले ठुलो भूमिका खेलेको उनीमाथि आरोप छ ।
निजगढ नगरपालिकामा गठबन्धनका उम्मेदवार खनाल विरुद्ध विपक्षलाई भोट मागेकाले भन्दै प्रमाण सहित बुढाथोकी विरुद्ध उजुरी परेको थियो । बुढाथोकीले काँग्रेस उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भन्दै अनुशासन समितिमा उजुरी परेकोले कारवाहीको लागि केन्द्रीय कार्यालयमा पत्राचार गरेको अध्यक्ष विनोदमणि महतोले जनाएका छन् ।
बुढाथोकीलाई काँग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा ४ (ख) अनुसार पार्टीको सदस्य समेत नहुनेगरी निलम्बन गरिएको महतोले बताए । बुढाथोकीले भने आफूमाथि पूर्वाग्रही ढङ्गले निर्णय भएको बताएका छन् । उनले प्रमाणमा रहेको अडियो समेत सम्पादन गरेर प्रतिशोध लिने ढङ्गबाट जिल्ला अनुशासन समितिले निलम्बन गरिएको तर, केन्द्रले कारबाही नगरेसम्म आफ्नो कारबाही नहुने उनको दाबी छ ।







