काठमाडौँ महानगरले दुई दिनमा भत्कायो १०० बढी अवैध संरचना « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगरले दुई दिनमा भत्कायो १०० बढी अवैध संरचना


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो।

सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्‍याङ रहेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

आइतबार कोटेश्वर प्रहरी चौकी नजिकैका ५० बढी अवैध संरचना भत्काइएको थियो।

महानगरले यसअघि बानेश्वर कम्प्लेक्समा निर्माण भएका, काठमाडौं मलका, आरबी कम्प्लेक्सका करिब १४ साना पसल र बानेश्वरमकै अल्फाबिटामा निर्माण विपरीत प्रयोग भएका संरचना भत्काइएको थियो।

यही सन्दर्भमा केही दिनअघि सानो भर्‍याङमा रहेको अवैध ७ टहरा पनि भत्काइएको छ।

नक्सा अनुरूप निर्माण नभएका, नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेर निर्माण भएका सबै संरचना अवैध ठहर गर्दै महानगरले आगामी दिनमा त्यस्ता सम्पूर्ण संरचना निरन्तर भत्काउने अठोट लिएको जनाएको छ।

हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन भएको महानगरले जनाएको छ। ती सबैलाई कानुनी दायरामा ल्याउने पनि महानगरको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस