स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दियो भने देशको प्रगति हुन्छ : राज्यमन्त्री श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दियो भने देशको प्रगति हुन्छ : राज्यमन्त्री श्रेष्ठ


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिए मात्र देशको प्रगति हुने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सोमबार हेटौँडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति हुने बताएका हुन् ।

उनले स्थानीय, प्रदेश र सङ्घबिच अधिकारको सम्बन्धमा विवाद हुने गरेको भन्दै स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दिनुपर्ने बताए । उनले स्थानीय सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिए । राज्यमन्त्री श्रेष्ठले स्थानीय सरकारलाई जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न प्राथमिकता दिइनुपर्ने बताए ।

राज्यमन्त्री श्रेष्ठले विकास निर्माणको काममा प्रदेश–प्रदेशका बिचमा प्रतिस्पर्धा हुनुपर्ने बताए । उनले प्रदेश र स्थानीय सरकारले रोजगारमूलक र व्यवसायमूलक शिक्षामा ध्यान दिनुपर्ने बताए ।

उनले उत्पादनमूलक उद्योगहरूको स्थापना गर्न जोड दिनुपर्ने बताए । उनले प्रदेश सरकारले ऐन, नियम तथा कानुनहरू बनाउँदा नयाँ औद्योगिक क्षेत्रहरूको स्थापना गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

उनले सङ्घीयता प्रयोगकै चरणमा रहेको भन्दै धेरै कानुनहरूलाई परिवर्तन गर्नु आवश्यक रहेको बताए । चुनावको घोषणा भइसकेकाले आगामी संसद्ले बाँकी रहेका कानुनहरू निर्माण गर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस