असोज १ देखि दसैँ सहुलियत पसल, खाद्यान्नमा प्रतिकिलो ७ र खसी बोकामा १० रुपैयाँ छुट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

असोज १ देखि दसैँ सहुलियत पसल, खाद्यान्नमा प्रतिकिलो ७ र खसी बोकामा १० रुपैयाँ छुट


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । दसैँका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइने कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले जानकारी दिए । उनका अनुसार यो छुट रकम पोहोरको मूल्यभन्दा पनि प्रतिकिलो २ रुपैयाँ कम हो । 

काठमाडौँ उपत्यकामा चार ठाउँहरू रामशाहपथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुने छन् । यदि कम्पनीको वेबसाइट/अनलाइनबाट अर्डर गरेमा सहुलियत दरमै सामान घरसम्म पुर्‍याइदिने सुविधा समेत रहेको थापाले बताए 

कम्पनीले हाल बासमती चामल प्रतिकिलो ११० रुपैयाँमा बिक्री गरिरहेकोमा सहुलियत दरमा १०३ रुपैयाँ पर्नेछ । जिरा मसिनो चामल हाल प्रतिकिलो ६८ रुपैयाँमा बिक्री भइरहेकोमा सहुलियत दिँदा ६१ रुपैयाँ पर्नेछ । त्यस्तै खाने तेलको मूल्यमा पनि प्रतिलिटर ७ रुपैयाँ रुपैयाँ सहुलियत दिइने कम्पनीले जनाएको छ । तेलको मूल्य भने ब्राण्डअनुसार फरक फरक पर्दछ । यसैबीच कम्पनीले दसैँका लागि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । जिउँदो खसीबोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । साल्ट ट्रेडिले पनि चिउरामा प्रतिकेजी ७ रुपैयाँ छुट दिने भएको छ भने नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस