राष्ट्रिय बीमा नीति प्रस्ताव स्वीकृतिका लागि अर्थ मन्त्रालयमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय बीमा नीति प्रस्ताव स्वीकृतिका लागि अर्थ मन्त्रालयमा


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । बीमा समितिले राष्ट्रिय बीमा नीति, २०७९ सम्बन्धी प्रस्ताव तयार गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । उक्त नीति नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपछि कार्यान्वयनमा जाने समितिले जनाएको छ ।

सोमबार समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ बीमा ऐन र राष्ट्रिय बीमा नीति आएपछि देशमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तारले नयाँ फड्को मार्ने समितिको विश्वास रहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले तयार गरेको राष्ट्रिय बीमा नीतिले सरकारलाई पनि गाइड गर्ने र अहिले स्वास्थ्य बीमाको देखिएको अन्योलता हट्नुका साथै गरिबी निवारणमा समेत भूमिका खेल्न सक्ने दाबी गरे ।

बीमा समितिका अध्यक्ष सिलवालले १० प्रतिशत लघुबीमा पुर्‍याउन निर्देशन दिएको वर्षौं हुँदा पनि ग्रामीण क्षेत्रका गरिबको बीमा नभएकोले उनीहरूको बीमा गर्न लघुबीमालाई लाइसेन्स दिन लागिएको बताए ।

आर्थिक रूपमा कमजोर भएका विपन्नको पनि बीमा गर्न लघुबीमा र बीमा कोषको विषय अगाडि सारेको उनको भनाइ छ । गरिबी निवारणमा पनि बीमाले योगदान दिन सक्ने भन्दै बीमामा सबैभन्दा ठूला सचेतनमा सरकारमा आउनुपर्ने उनले बताए।

अहिले बीमाको पहुँच ४० प्रतिशत छ भने पनि १० प्रतिशत भन्दा बढी पोलिसी डुप्लिकेसन रहेको उनले दाबी गरे । गत आर्थिक वर्ष २०७८र७९ को असार मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल जीवन बीमालेख ५२ प्रतिशतले, कूल निर्जीवन बीमालेख २ प्रतिशतले र कुल बीमाशुल्क सङ्कलन १६ प्रतिशतभन्दा बढीले वृद्धि भएको समितिले जनाएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा बीमाको योगदान ३।६६ प्रतिशत र कूल बीमा शुल्क आर्जन १ खर्ब ७७ अर्ब रहेको समितिले जनाएको छ । समितिले चालू आर्थिक वर्षमा बिमासम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना तथा माध्यमिक विद्यालय र सीटीईभीटीका पाठ्यक्रममा बीमा विषय थप गर्न आवश्यक कार्य गर्ने, बीमा सूचना केन्द्र स्थापना गर्ने, बीमित हित संरक्षण कोष स्थापना गर्ने, बीमा कलेज स्थापना गर्ने र बिमासम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाउने लगायतका कार्य गर्ने बताएको छ ।

यस्तै बीमा समितिका अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानी गर्न सरकारले तत्काल १ अर्ब निकासा गर्छु भनेको बताए । सरकारले उक्त रकम निकासा गरेपछि कोरोना बीमाको दाबी भुक्तानी हुने उनले बताए ।

गत साता मन्त्री र सचिव समेतको भेटमा अर्थमन्त्रीले अर्थ सचिवलाई तत्काल १ अर्ब निकासा गर्न निर्देशन दिएको सिलवालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस