काठमाडौँ । दुई सातादेखि आन्दोलित विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ ।
आइतबारदेखि एक सातासम्म विद्यालय बन्दको घोषणा गरेको परिषद्ले सोमबार वार्ता र संवादबाटै माग पूरा गराउने भन्दै विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको हो ।
परिषद्का अध्यक्ष गङ्गाराम तिवारी, महासचिव शान्तिनाथ योगी र आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्रले विज्ञप्ति जारी गरेर विद्यालय बन्दको कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।
विद्यालयका लेखापाल कार्यालय सहयोगी सेवा सुविधाका लागि विद्यालय बन्द गरेर आन्दोलित बनेपछि बालबालिका पठनपाठनबाट वञ्चित भएका थिए । त्यसको विरोध भएको थियो । विद्यालय कर्मचारी परिषद्ले घोषणा गरेको आन्दोलनका कारण आइतबार र सोमबार देशभरका सामुदायिक विद्यालय मिश्रित रूपमा खुल्ने र बन्द थिए ।