विराटनगरमा लखेटिए फोहोरको शुल्क लिन आएका कर्मचारी  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विराटनगरमा लखेटिए फोहोरको शुल्क लिन आएका कर्मचारी 


१० भाद्र २०७९, शुक्रबार


काठमाडैँ । विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापनको जिम्मा पाएका संस्थाले आफूखुसी शुल्क लिन थालेपछि उपभोक्ता विरोधमा उत्रिएका छन् । कतिपय वडामा शुल्क सङ्कलन गर्न आउने संस्थाका कर्मचारीलाई महानगरबासीले लखेटेका छन् । 

उत्तरतर्फ वडा नम्बर १ र ३ का कतिपय क्षेत्रमा दररेटभन्दा धेरै शुल्क उठाएको पाइएपछि जाँचबुझ समिति गठन गरिएको महानगरको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधानले जानकारी दिए ।

दुई दिनअघि वडा नम्बर ७ मा पूर्व सूचनाबिनै अधिक शुल्क माग्न आएका फोहोर व्यवस्थापन संस्थाका प्रतिनिधिलाई स्थानीयले लखेटेका हुन् । वडा नम्बर ७ का सदस्य कल्याण लामिछानेले एक्कासि बढी पैसा माग्न आएका कर्मचारीसँग असन्तुष्टि जनाउँदै स्थानीयले शुल्क दिन इन्कार गरेको बताए । 

वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रधानका अनुसार फोहोर मैला व्यवस्थापनमा खटिएका संस्थालाई सम्झौता भएको पहिलो दिनबाट नै स्वीकृत दररेटभन्दा बढी शुल्क नलिन निर्देशन दिए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । संस्थाले महानगरबासीसँग उठाउने शुल्कको बिल महानगरपालिका कार्यालयबाट प्रमाणित गर्नुपर्ने प्रावधान छ । 

विराटनगरमा उत्तर, मध्य र दक्षिण गरी भौगोलिक विभाजनका आधारमा तीनवटा संस्थाले फोहोर व्यवस्थापनको जिम्मेवारी लिएका छन् । उत्तरतर्फको क्षेत्रमा फूलबारी वेस्ट फ्री सोलुसन कन्ट्रोल सर्भिस, मध्यक्षेत्रमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र दक्षिण क्षेत्रमा आरएसडी सप्लायर्सले फोहोर मैला व्यवस्थापनको ठेक्का लिएको छ । तीमध्ये शान्तिले वार्षिक १२ लाखका दरले पाँच वर्षको रु.६० लाख रुपैयाँ, फूलबारीले पाँच वर्षमा ५३ लाख र आरएसडीले १ करोड ९७ लाख रुपैयाँ महानगरसँग प्राप्त गर्ने सम्झौता गरेको छ । 

विराटनगर महानगरपालिका क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापन व्यवस्थित ढङ्गले हुन सकेको छैन । उठाइएको फोहोरको वर्गीकरण नगरी सुनसरी सिमानामा पर्ने केशलिया खोलामा त्यसै बिर्सजन गर्ने गरिएको छ । 

ल्याण्डफिल साइटको लागि महानगरले मोरङको डंग्राहामा २८ बिघा र विराटनगरको दरैयामा १० बिघा जग्गा खरिद गरेको छ । तर, समुचित प्रयोग हुन नसक्दा फोहोर व्यवस्थापनको काम अव्यवस्थित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस