नेकपा एसले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा एसले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।

जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने र प्रदेश कमिटीले भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाउने कार्यतालिका रहेको छ । केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुङ्गो लगाउने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले अगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्न समयतालिका तय गरेको बताए । उनले भने, ‘संविधानको रक्षा, संसद् पुनःस्थापना, मुलुकमा राजनीतिक स्थिरताका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

देशभरका लोकतान्त्रिक समाजवादी शक्ति एक ठाउँ भएर मुलुकको स्थिरता र स्थायित्वका लागि संसद् पूर्णकाल सञ्चालन गरी आगामी मङ्सिर ४ गते निर्वाचन गर्न लागिएको उनले जानकारी दिँदै निर्वाचनमा साझा उम्मेदवार उठाइने बताए ।

प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले अहिलेसम्म करिब सात लाख सदस्यता वितरण गरिसकेको जानकारी दिए । पार्टी स्थापनाको एक वर्षका अवधिमा दुई लाखभन्दा बढी व्यक्ति पूर्णकालीन सदस्य तथा पाँच लाख साधारण सदस्य भएको उनले जनाए ।

५ हजार वडा विस्तार गरेको पार्टीले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा २७ प्रतिशत सिटमा उम्मेदवारी दिएको थियो । निर्वाचनमा नौ लाखभन्दा बढी मत प्राप्त भएको पार्टीले जनाएको छ । नेकपा (एमाले) को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै नेता तथा कार्यकर्ताको विद्रोहबाट पार्टीको जन्म भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस