राशन घोटालामा मुछिएका सशस्त्रका एसपी हेडक्वाटर तानिए « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राशन घोटालामा मुछिएका सशस्त्रका एसपी हेडक्वाटर तानिए


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । राशन घोटालामा मुछिएपछि दार्चुलामा कार्यरत सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्ट हेडक्वाटरतानिएका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गणमा प्रमुखका रूपमा कार्यरत विष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा घोटाला गरेको आरोप लागेपछि उनीमाथि छानबिनका थालिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा भट्टराईले एसपी विष्टलाई तत्काल जिम्मेवारीबाट हटाइएको पुष्टि गरेका छन् । उनले राशनमा अनियमितता भएको आरोप लागेपछि सशस्त्र प्रहरीको मुख्यालय हल्चोक झिकाएर आवश्यक छानबिन थालिएको बताए ।

एसपी विष्टमाथि सुरक्षाकर्मीलाई बिदामा छाडेर राशन बापत प्राप्त हुने गरेको रकम खल्तीमा हाल्ने गरेको आरोप लागेको छ । यो विषयसँग सम्बन्धित सूचना पत्रकारलाई उपलब्ध गराएको भन्दै सोही गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि एसपी विष्टकै सिफारिसमा मुद्दा चलाइएको छ ।

सशस्त्र प्रहरीको विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएका साहु डिल्लीबजार कारागारमा छन् । गणमा रहेका हातहतियार सम्बन्धी विवरणको समेत सूचना सञ्चार माध्यमलाई दिएको भन्दै एसपी विष्टकै सिफारिसमा साहुमाथि जन्मकैदको सजाय माग गरिएको छ । तर साहुका परिवारले एसपी विष्टले फसाउन झुठो मुद्दा लगाएको आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस