रोल्पामा नागरिकतामा श्रीमानको नाम र दलितको थर सच्याउने बढे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रोल्पामा नागरिकतामा श्रीमानको नाम र दलितको थर सच्याउने बढे


३ भाद्र २०७९, शुक्रबार


रोल्पा । रोल्पामा श्रीमानको नाम र दलितको थर सच्याएर नागरिकताको प्रतिलिपी बनाउनेहरूको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिलो श्रीमानबाट सम्बन्ध विच्छेद भएपछि दोस्रो विवाह गर्नेहरु आफ्नो नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय आउने गरेका छन् । यसैगरी ग्राहक नआउने चिन्ताले होटल सन्चालकहरुले पनि आफ्नो नागरिकतामा दलितको थर सच्याउने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेख अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम भई एक हजार ८१० वटा नागरिकता जारी भएका थिए । सो वर्ष जिल्ला कूल सात हजार ३९४ वटा नयाँ नागरिकता जारी भएका थिए । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएका थिए ।

जिल्लामा वर्षभरि जारी हुने प्रतिलिपी नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपी नागरिकतामा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम हुने गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । ‘जिल्लामा सानै उमेरमा बिहे गर्ने र उमेर पुगेपछि सम्बन्ध विच्छेद गर्ने क्रम बढेसँगै नागरिकतामा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम गर्नेको संख्या पनि बढिरहेको छ,’ प्रजिअ सापकोटाले भने ।

नागरिकतामा थर सच्याउनेहरुको संख्या पनि बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार हरेक वर्ष झण्डै ५० जनाले थर सच्याउने तथा परिवर्तन गर्ने गर्दछन् ।

दलितलाई होच्याउने खालका थर भएकाहरु नेपाली नागरिकताको प्रमाण पत्रमा थर फेर्न आउने गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । ‘दमाईबाट परियार, कामीबाट विश्वकर्मा लगायतका थर सच्याउनका लागि निवेदन आउने गर्दछन्,’ प्रजिअ सापकोटाले भने, ‘प्रायः प्रेम विवाह गर्ने महिलाहरुले श्रीमान, आफू र आफ्ना सन्ततीको नागरिकतामा दलित शब्द नहोस् भनेर परिवर्तन गर्न आएको देखिन्छ ।’

होटेल व्यवसाय गर्ने दलितहरु पनि थर परिवर्तन गर्न आउने गर्दछन् । दलित भनेर परिचय खुल्दा होटेलमा नास्ता र खाना खान ग्राहक नआउने चिन्ताले नागरिकताको प्रमाण पत्रमा थर परिवर्तन गराइदिन माग गर्दै निवेदन पर्ने गरेको प्रजिअ सापकोटा बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस