बागमती प्रदेश प्रमुखद्वारा निजामती सेवा र स्थानीय सेवा अध्यादेश जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेश प्रमुखद्वारा निजामती सेवा र स्थानीय सेवा अध्यादेश जारी


१ भाद्र २०७९, बुधबार


काठमाडौँ ।बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय तहको सेवा गठन र सञ्चालनसम्बन्धी दुई छुट्टाछुट्टै अध्यादेश ल्याएको छ ।

प्रदेश सरकारले ल्याएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरण गरेका हुन् ।

प्रदेश मन्त्रिपरिषद्को २४ साउन २०७९ मा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाको लागि २६ साउन २०७९ मा पेस हुन आएका अध्यादेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

यस्तै १ सय ३९ वटा दफामा समेटिएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा प्रदेश इन्जिनियरिङ, कृषि, न्याय, प्रशासन, वन, शिक्षा र स्वास्थ्य सेवा गरी ६ वटा सेवा रहने व्यवस्था गरेको प्रदेश प्रमुख कार्यालयका कानून अधिकृत प्रकाश चापागाईँले जानकारी दिए ।

यस्तै, अध्यादेशले प्रदेश निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष कायम गरेको छ । प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुला प्रतिस्पर्धाबाट पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सोलाई सय मानी महिलालाई ३९ प्रतिशत, आदिवासी जनजातीलाई ३७ प्रतिशत, दलितलाई ८ प्रतिशत, मधेसीलाई ७ प्रतिशत, अपाङ्गलाई ५ प्रतिशत र पिछडिएको क्षेत्रलाई ४ प्रतिशत छुट्याई पद पूर्ति हुने व्यवस्था अध्यादेशले गरेको छ ।

यस्तै, संघीय निजामती सेवा, जुनसुकै प्रदेश र स्थानीय सेवाका स्थायी कर्मचारी प्रदेश लोक सेवा आयोगको पदपूर्ति प्रक्रियाद्वारा बागमती प्रदेशको कुनै निकायमा नियुक्ति वा पदस्थापन भई साबिक निकायबाट रमाना लिई आएमा सेवा अवधि जोडिने व्यवस्था समेत अध्यादेशले गरेको छ ।

समावेशीतामा आधारित निर्धारित पदहरूमा प्रत्यक्ष मताधिकारको आधारमा निर्वाचित हुने गरी कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था अध्यादेशले गरेको छ ।

यसैबिच कानून अधिकृत चापागाईँका अनुसार अधिकृत तहमा छैंठौं तहदेखि एघारौँ तहसम्म रहने र प्रदेशका मन्त्रालयमा एघारौँ तहका प्रदेश निजामती सेवाको कर्मचारी सचिव रहने व्यवस्था र सचिवको पदावधि पाँच वर्षको हुने व्यवस्था अध्यादेशले गरेको छ ।

प्रशासन सेवाको एघारौँ तहको सचिव पदमा बढुवा गर्ने प्रयोजनका लागि प्रदेश प्रशासन सेवा र प्रदेश शिक्षा सेवाका एक तह मुनिका आवश्यक न्यूनतम सेवा अवधि र न्यूनतम योग्यता पूरा गरेका कर्मचारीहरू बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन पाउने व्यवस्था रहेको छ ।

यस्तै, आजै जारी भएको स्थानीय सेवा ९गठन तथा सञ्चालन० अध्यादेश, २०७९ ले प्रदेश भित्रका स्थानीय तहबाट गरिने सेवा प्रवाहको लागि आवश्यक कर्मचारी व्यवस्था गर्ने पनि उल्लेख छ । सेवालाई प्रभावकारी बनाउन, कर्मचारीको नियुक्ति, बढुवा, सरुवा, विभागीय कारबाही, स्थानीय सेवा र सेवाका समूह तथा पदहरूमा एकरूपता तथा सुशासन कायम गर्न अध्यादेशले कानूनी आधार प्रदान गरेको छ ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद प्रदेश निजामती सेवाको पद हुने व्यवस्था अध्यादेशले गरेको अधिकृत चापागाईँले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस