बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न निजी क्षेत्र इच्छुक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न निजी क्षेत्र इच्छुक


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । सरकारले स्वदेशी लगानीमा बनाउने घोषणा गरेको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न निजी क्षेत्र इच्छुक देखिएको छ । 

निजी क्षेत्रलाई नै बाइपास गरेर बुढीगण्डकी जलविद्युत् बनाउने प्रक्रिया अघि बढाएको छ । सोही क्रममा निजी क्षेत्रले त्यसमा असन्तुष्टिसमेत व्यक्त गर्दै बुढीगण्डकीमा लगानी गर्न इच्छा देखाएको हो । 

सरकारले हालै चीनको गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी)बाट उक्त आयोजना खोसेर स्वदेशी लगानीमै बनाउने प्रक्रिया अघि बढाएको हो । 

साथै, यही प्रयोजनका लागि स्थापना गर्न लागिएको कम्पनीमा विभिन्न मन्त्रालय तथा सरकारी निकायहरूको सेयर हुने प्रस्ताव गरिएको छ । तर, सेयर संरचनामा निजी क्षेत्रलाई पूर्ण रूपमा निषेध गरिएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेले असन्तुष्टि जनाएका छन् ।

बुढीगण्डकी जलविद्युत् आयोजनामा निजी क्षेत्रले पनि लगानी गर्न पाउनुपर्ने उनको माग छ । 

नीतिमूलक अनुसन्धान तथा विकास संस्थाले आइतबार काठमाडौंमा आयोजना गरेको एक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् । सरकारले आवश्यक प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्नुपर्ने उनको माग छ । 

यस्तै, इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले पनि बुढीगण्डकीमा निजी क्षेत्रलाई समावेश गर्नुपर्ने बताए । सरकारले पछिल्लो पटक उक्त आयोजना चीनको गेजुवालाई बनाउन दिएको थियो । तर, गेजुवाले उक्त आयोजना बनाउने मामलामा खास काम गर्न सकेन । 

त्यसपछि सरकारले गत चैतमा गेजुवाबाट उक्त आयोजना खोसेर स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । साथै, मन्त्रिपरिषद्ले गत असारमा उक्त आयोजना बनाउनका लागि कम्पनी स्थापना गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यसपछि मन्त्रालयले बुढीगण्डकी जलविद्युत् विकास कम्पनी लिमिटेड नामक पब्लिक कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस