मनोहरा खोलाको बाढीले ७५ लाख बराबरको क्षति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मनोहरा खोलाको बाढीले ७५ लाख बराबरको क्षति


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा बुधबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ ।

बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्य बस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ । 

सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले बाढीपीडित बस्तीको अवलोकन गरी पीडितको समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

यसैगरी मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठ सहितको टोलीले दिव्यश्वरी जग्गा एकीकरण आयोजना, मनोहरा सुकुम्वासी बस्ती लगायतको बाढीपीडित क्षेत्रमा अवलोकन गरी क्षतिको बारेमा जानकारी लिए ।

भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिन् ।  महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बाढीले बङ्गुर, हाँस, कुखुरा लगायतका पशु चौपाया बगाउँदा र खाद्यान्न डुबानमा रु ७५ लाख बराबरको क्षति पुगेको जानकारी दिए । 

यसबाहेक सुकुम्वासी बस्तीकै पाँच घर भत्किएको, दिव्यश्वरीको एक घर बगाएको, काँडाघारी प्रहरी प्रभागको मेस नै भत्किएको, दिव्यश्वरी आयोजनाका खोला किनाराको कालोपत्र सडक नै कतै बगाएको र कतै चिरिएर भासिएको उनले जानकारी दिए ।

खोला किनारामा रहेको काठमाडौँ तर्फ पाँच घर बगाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस