अर्थ सचिव : पहिले मारामार, अहिले भागाभाग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अर्थ सचिव : पहिले मारामार, अहिले भागाभाग


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । भनिन्छ, समय बलवान छ । स्थायी सरकारसमेत भनिने निजामतीमा अहिले यही समयले फनक्क एक फन्को लगाएको छ । केही महिनाअधिसम्म पनि सचिवहरूबिच मारामार र खुट्टा तानातान हुने अर्थ सचिव यतिबेला भेट्टाउनै मुस्किल छ । ठुलै ‘बोलकबोल’ र उच्च राजनीतिक तथा ‘घराना’ व्यापारीको ‘इन्ट्रेस्ट’ले विशेष काम गर्ने अर्थ सचिवमा अहिले खोज्दा पनि नपाउने अवस्था आई लागेको छ । कार्यालय सहयोगीसम्मै ‘आस्था’ र ‘भागबन्डा’ लगाउने राजनीतिक दलहरूसमेत स्किप भएको अवस्था छ । गत साताको मन्त्रिपरिषद्ले आधा दर्जन सचिवको सरुवा गर्दा पनि रिक्त रहेको अर्थमा कुनै सचिव पठाउन नसक्नुले सरकारसमेत यो मामिलामा हारेको सहजै स्विकार्न सकिन्छ । 

यो अवस्था भने प्रतिस्थापन बजेटबाटै प्रवेश गराइएका एक जना खेताला विज्ञ पूर्वनायवसुब्बाले करका दर हेरफेर पछि सिर्जना भएको हो । अनुभवी तथा क्याडरका कर्मचारी लखेट्दै रोजी रोजी लगिएका कर्मचारीले नै हात उठाएपछि भने अर्थ भनेपछि हुरुक्कै हुने कर्मचारी चारकोष पर भाग्ने अवस्थामा पुगेका छन् । सचिवकै हकमा अधिकृतताका कुनैबेला केही महिना बसेकालेसमेत क्याडरै भनेर कुद्नेहरू अहिले गनेमानेकै क्याडर भनिएकाहरूसमेत तर्किएका छन् । 

मुलुकको अर्थ मन्त्रालयमा नै यो अवस्था आउनुमा राजनीति मात्रै होइन, कर्मचारी पनि उत्तिकै दोषी छन् । आफ्नै सहकर्मीलाई धकेलेर ‘लाए अह्राएको सबै गर्छु’ भनेर जाने सचिवहरू पनि उत्तिकै भागीदार छन् । कानुनले मिल्दै नमिल्ने काम मिलाउँछु हजुर भनेर छिद्र नखोजिदिएको अवस्थामा मात्रै पनि यो हविगत हुने थिएन । र, जुन कुनै दलको जो कोही व्यक्ति मन्त्री आए पनि जनार्दन शर्माले जस्तो नियति भोग्नु पर्ने थिएन । 

जे गरे पनि हुन्छ भन्ने राजनीतिक नेतृत्वको अहमता र मिलाउन सकेजति मिलाउन लाग्ने सचिव मधुकुमार मरासिनीको लचकताले नै अर्थमा सचिवको खडेरी पर्ने अवस्था आइलागेको हो । यी दुवै अतिबादबाट राजनीति र प्रशासनिक नेतृत्वको चेत खुल्न जरुरी छ । चाहे राजनीति होस् या प्रशासनिक, प्रतिशोधले कसैको भलो गर्दैन, अझ सार्वजनिक महत्त्वका पदमा आसीन व्यक्तिहरूको लडाइले त अन्ततोगत्वा हार्ने देश र जनता नै हुन् । जुन नियति आगामी दिनमा नदोहोरियोस् भन्नेतर्फ आम नागरिकसमेत सजग हुन उत्तिकै जरुरी छ । 

र, वर्तमानमा देखिएको अर्थ सचिवको खडेरी सचिवहरूबाटै पूर्ति गर्ने भएकोले अनुभवसँगै केही मात्रामा भए पनि नैतिकवान् खोजेर पठाउन जरुरी छ । जसले गलत निर्णयहरूलाई तत्काल रोक्न र कानुनी रूपमै त्यसको प्रतिउत्तर दिन सकोस् न कि सौदाबाजीमा लुटपुटिन पुगोस् र बचेखुचेको साखसमेत धूलिसाथ पारेर कुलेलम ठोकोस् ।  

प्रतिक्रिया दिनुहोस