बल्ल मिल्यो बरियता अनुसार कर्मचारीको तलबमान, नासुहरुले भने -‘हाम्रो पनि बढाउ’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बल्ल मिल्यो बरियता अनुसार कर्मचारीको तलबमान, नासुहरुले भने -‘हाम्रो पनि बढाउ’


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । निजामती कर्मचारीहरुले लामो समयदेखि उठाउँदै आएको वरियता अनुसार तलव मिलान भएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्देशनसँगै सरकारले वरियता अनुसार तलव मिलान गरेको हो ।

पछिल्लो मर्यादा क्रममा रहेका कर्मचारीको तलब बढी र अघिल्लो मर्यादाक्रममा रहेका कर्मचारीको तलव कम निर्धारण भएको देखिँदा यसबाट कर्मचारीको आदेशको शृंखला(चेन अफ कमाण्ड) मानकारात्मक असर परेको, प्रोटोकलअनुसार सम्मान प्रकट हुने स्थिति नरहेको र उत्प्रेरणामा कमी आई नतिजामूलक कार्यसम्पादनमासमेत असर पर्ने देखिएको जनाउँदै समितिले तलवमानमा वैज्ञानिक आधार लिई मर्यादाक्रम अनुसार अघिल्लो मर्यादाक्रम हुने पदाधिकारीहरुको बढी र पछिल्लो मर्यादाक्रममा रहेको पदाधिकारीहरुको कमहुने गरी आर्थिक वर्ष २०७९/०८० को तलवमान समायोजन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।

निर्देशनअनुसार अघिल्लो मन्त्रिपरिषद बैठकले नयाँ तलव स्केल पारित गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयले २०७९ साउन १ गतेदेखि लागू हुने तलवमान सार्वजनिक गरिसकेको छ ।

वरियता माथि हुने तर तलब कम हुँदा कर्मचारीहरुमा असन्तुष्टि मात्रै थिएन कतिपय अवस्थामा लज्जाबोध गर्नुपर्ने अवस्थासमेत देखिएको थियो । तलवमान मिलाएसँगै अधिकृतदेखि सहसचिवसम्मको तलवमा सामूहिक रुपले सरकारले बढाएको १५ प्रतिशतभन्दा बढी हुनपुगेको छ । जसअनुसार अधिकृतको २४, उपसचिवको २५ र सहसचिवको २६ प्रतिशतसम्म बृद्धि भएको बताइएको छ । जसलाई लिएर राजपत्र अनंकित प्रथमश्रेणी(नायब सुब्बा) का कर्मचारीहरुले आफ्नोसमेत सोही अनुसार बृद्धि हुनु पर्ने आवाज उठाएका छन् ।

उनिहरुले मर्यादाक्रम सम्बन्धी राजपत्रको ८ नम्बरमा ‘यो मर्यादाक्रम औपचारिक कार्यक्रमका लागि भएकोले सुरक्षा र अरु सुविधाका विषयमा प्रचलित कानून बमोजिम नै हुने’ भन्ने बुँदालाई इंगित गर्दै समान रुपले बढेको १५ प्रतिशत सबै कर्मचारीको हकमा लागू हुने बताएका छन् । ‘बजेट भाषणमा एकमुष्ट १५ प्रतिशत बढेको भन्ने तर तलवमान आउँदा अधिकृतदेखि सहसचिवसम्म २६ प्रतिशत सम्म कसरी बढ्यो ?’, एक नासुले प्रश्न गर्दै भने, कर्मचारी भनेपछि सबैलाई समान बढेको हुनुपर्ने होइन र ?’

आफ्नो पनि तलव बढोत्तरी हुनुपर्छ भन्ने नासुहरुको माग जायज भएपनि तलवमान मिलानका क्रममा प्रतिशतमा केही माथि हुन गएको रकममा नै प्रश्न उठाउनु भने जायज नभएको उपल्लो तहका कर्मचारीहरुको भनाई छ । ‘पहिले नै नासु र अधिकृतहरुको तलवमा ठूलो खाडल भएको यथार्थ हो तर मर्यादाक्रममा नमिलेको कुरा मिलाउन पनि ढिला भईसकेको थियो’ एक उपसचिवले भने ‘मर्यादाक्रममा माथि तर तलवमा तल हुँदा चेन अफ कमाण्डमा परेको र पर्न सक्ने असरबारे ढिलै भएपनि सरकारले बुझ्ने प्रयास गरेको छ, जुन सकारात्मक कदम हो ।’

प्रतिक्रिया दिनुहोस