डुम्रे-बेँसीशहर र बेँसीशहर-चामे सडक अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डुम्रे-बेँसीशहर र बेँसीशहर-चामे सडक अवरुद्ध


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । अविरल वर्षाले आएको पहिरोले गए रातिदेखि डुम्रे–बेँसीशहर ​र बेँसीशहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीशहर सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिरो र मर्स्याङ्दी गाउँपालिका-४ रामबजार पहिराले बेँसीशहर चामे सडक अवरुद्ध भएको हो । 

वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

उनका अनुसार पहिराले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ । यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीशहर आउने यात्रुहरू बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ । 

त्यस्तै,  लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ । 

यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवतजावत हुने गर्दछन् । तर उनीहरूलाई यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस